म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तला व्यापार गरेका छन् ।
४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तला बिक्रीबाट करिब रु. एक करोड ८० लाख आम्दानी भएको थियो । यस वर्ष बोटमा दाना कम लागे पनि बजार मूल्य बढेकाले समग्र आम्दानी गत वर्षकै हाराहारीमा रहेको दोसल्ले व्यवसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए ।
“गत वर्षको तुलनामा यसपालि करिब २५ प्रतिशत कम दाना लागेको छ,” उनले भने, “तर नयाँ बिरुवामा पनि फल लाग्नु र सुन्तलाको मूल्य बढेकाले आम्दानी घट्न पाएन ।”
उनका अनुसार राम्रो मूल्य पाउन माघ लागेपछि मात्र सुन्तला टिपेर बजार पठाउन थालिएको हो ।
हाल दोसल्लेको बगैँचाबाट उत्पादन भएको करिब ६० प्रतिशत सुन्तला बजारमा पुगिसकेको छ भने बाँकी ४० प्रतिशत बोटमै छ । किसान र व्यापारीहरू सुन्तला टिप्ने, ग्रेडिङ गर्ने र बजार पठाउने काममा व्यस्त छन् ।
देशका अन्य क्षेत्रका बगैँचा रित्तिन थालेपछि यामको अन्त्यतिर सुन्तला बिक्री गर्दा राम्रो मूल्य पाइएको अगुवा किसान खगवीर पाइजाले बताए । “अघिल्ला वर्षहरूमा मंसिर–पुषमा २० किलोको प्रतिक्रेट रु. १,७०० मा बिक्री हुने सुन्तला यस वर्ष रु. २,५०० सम्ममा बिक्री भइरहेको छ,” उनले भने, ।
अन्यत्र सुन्तला सकिएकाले व्यापारीहरूले प्रतिक्रेट रु. ३,२०० सम्म तिर्न तयार भएको अर्का किसान विकास श्रेष्ठले जानकारी दिए । पोखरा र काठमाडौंका व्यवसायीहरू बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेपछि अहिले धमाधम टिपाइ भइरहेको छ ।
दोसल्लेका सबै घरधुरी सुन्तला खेतीमा संलग्न छन् । सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि गाउँबाट बसाइँसराइ रोकिएको छ। यसअघि बेनी, पोखरा लगायतका स्थानमा बसोबास गरेका स्थानीयसमेत गाउँ फर्किएर बाँझो जमिनमा सुन्तला रोपण गर्न थालेका छन् ।
हाल दोसल्लेमा करिब १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागका विज्ञ बोलाई माटो परीक्षण गरेपछि व्यवस्थित रूपमा सुन्तला खेती सुरु गरिएको थिया े। त्यसयता हरेक वर्ष खेतीको क्षेत्र विस्तार हुँदै आएको छ ।



