भोजपुर – औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजारमा पुस्तौँदेखि चल्दै आएको परम्परागत धातु उद्योग पछिल्लो समय कोइला अभावका कारण गम्भीर सङ्कटमा पर्दै गएको छ ।
कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री उत्पादनका लागि परिचित टक्सारमा विगतमा सयौँको सङ्ख्यामा धातु उद्योग सञ्चालनमा थिए। पञ्चायतकालदेखि बहुदलीय व्यवस्था स्थापनासम्म यहाँका उद्योगले लाखौँ रुपैयाँ बराबरका सामग्री उत्पादन गरी जिल्लासँगै तराईका विभिन्न सहरसम्म आपूर्ति गर्दै आएका थिए ।
तर आवश्यक कोइला तथा कच्चापदार्थको अभाव, उत्पादन लागत वृद्धि र पेसाप्रति नयाँ पुस्ताको आकर्षण घट्दै जाँदा पछिल्लो समय टक्सार बजार क्रमशः सुनसान बन्दै गएको स्थानीयवासी विनोद ताम्राकारले बताए ।
उनका अनुसार यहाँका घरेलु धातु उद्योग सञ्चालकको सबैभन्दा ठूलो समस्या कोइला अभाव नै हो । बजारमा आवश्यक कोइला सहज रूपमा नपाइने भएपछि उद्योग सञ्चालनका लागि आफैँले रुख काटेर कोइला बनाउनुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।
“कांसको काम सुरु भएदेखि अन्त्यसम्म कोइला अनिवार्य पर्छ,” उनले भने , “अहिले कोइला पाउन निकै कठिन छ । कोइलाकै अभावका कारण धेरै कालीगढ पेसा छाड्न बाध्य भएका छन् ।”
दसकौँ अघि सयौँको सङ्ख्यामा रहेका धातु उद्योग अहिले आएर पाँच वटामा मात्र सीमित भएका छन् । कोइला मात्र होइन, मैनलगायत अन्य स्थानीय कच्चापदार्थ पनि सहज रूपमा नपाउँदा पेसा धान्न झनै कठिन बन्दै गएको अर्का स्थानीय सुरजबहादुर उदासले बताए ।
“कोइलाबिना कांसको काम सम्भव नै हुँदैन,” उनले भने, “कांस पगाल्न, मैन पगाल्न सबैमा कोइला चाहिन्छ । अहिलेको अवस्थामा कोइलाकै कारण पेसा जोगाउने कि छाड्ने भन्ने दोधारमा छौँ ।”
स्थानीयका अनुसार राणा तथा पञ्चायती शासनकालमा विशेष प्रसिद्धि कमाएको टक्सारको धातु उद्योगले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाएको थियो । तर पछिल्लो समय स्थानीयवासीको पलायन, कच्चापदार्थको अभाव, आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र सरकारी सहयोगको कमीका कारण यो परम्परागत उद्योग क्रमशः धराशायी बन्दै गएको छ ।
स्थानीयवासीले टक्सारको ऐतिहासिक पहिचान जोगाउन कोइला आपूर्तिमा सहजीकरण, परम्परागत उद्योग प्रवद्र्धन कार्यक्रम तथा कालीगढलाई लक्षित राहत र प्रोत्साहनमूलक नीति तत्काल आवश्यक रहेको बताएका छन् ।



