स्वास्थ्य बीमाको भुक्तानी सरकारले नगरे महानगरले व्यहोर्छ : मेयर महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैँ उक्त रकम तिर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले बीमाबापतको रकम समयमै भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भुक्तानी नआएकै कारण सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले नै व्यहोर्नुपर्ने अवस्था रहेको बताए ।

मेयर महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा भुक्तानीको जिम्मेवारी महानगरपालिकालाई सुम्पिएमा महानगरले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे ।

उनका अनुसार पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना भइरहेको छ, जुन निकट भविष्यमै सञ्चालनमा आउनेछ । उक्त केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने उनले बताए ।

महर्जनले ललितपुर महानगरपालिका र पाटन अस्पतालबीचको सहकार्यलाई मुलुकका ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास भएको उल्लेख गरे ।

उनले भने, ‘कथंकदाचित नेपाल सरकारले बीमाको भुक्तानी नगरेर सेवा बन्द गर्नुपर्ने अवस्था आयो भने सबैभन्दा बढी गाली मैले नै खानुपर्ने हुन्छ । पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिन सरकारसँग आग्रह गर्छु । यदि नेपाल सरकारले ललितपुर महानगरपालिकालाई भुक्तानी गरिदिन औपचारिक पत्र दियो भने, म महानगरको तर्फबाट त्यो जिम्मेवारी लिन तयार छु ।’

मेयर महर्जनले ललितपुर महानगरपालिका ७५२ पालिकामध्ये उदाहरणीय पालिका बन्न सफल भएको दाबी पनि गरे ।