जुम्ला – जिल्लाको गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि उनको पद स्वतः रिक्त भएको हो ।
निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना जारी गर्दै गुठिचौर गाउँपालिका अध्यक्ष बुढासहित तीन जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । आयोगको सूचनामा बुढासँगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको उल्लेख छ । उनीहरू सबै नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
गुठिचौर गाउँपालिका अध्यक्ष बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई निर्वाचित हुनुभएको थियो। हालै उहाँ रास्वपामा प्रवेश गरेपछि दल त्यागको आधारमा पद रिक्त भएको हो।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ अनुसार उनीहरूको पद रिक्त भएको जनाएको छ। दल त्यागसम्बन्धी विषयमा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराएपछि आयोगले असार ८ गतेको बैठकमार्फत पद रिक्त गर्ने निर्णय गरेको हो।
कानुनी व्यवस्था अनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल परित्याग गरेमा, अर्को दलको सदस्यता लिएमा वा नयाँ दल गठन गरेमा पद स्वतः रिक्त हुने प्रावधान रहेको छ।



