बहुसूचक सर्वेक्षण : नेपालमा प्रति हजार जन्ममा २७ शिशुको मृत्यु, पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन र योजना तर्जुमाका लागि स्तरीय तथा तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यले यो सर्वेक्षण सञ्चालन गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा गरिएको यो सर्वेक्षण नेपालमा सम्पन्न चौथो बहुसूचक सर्वेक्षण हो । प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति एक हजार जीवित जन्ममा ३१ रहेको छ भने नवजात शिशु मृत्युदर १७ रहेको देखिएको छ ।

प्रदेशगत रूपमा नवजात शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २६ र बागमती प्रदेशमा सबैभन्दा कम १० रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिममा ३८ र बागमतीमा १७ रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिममा सबैभन्दा बढी ४८ र गण्डकी प्रदेशमा सबैभन्दा कम २० रहेको छ ।

विद्युत्, टेलिफोन र इन्टरनेट पहुँच

प्रतिवेदनअनुसार ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी ९९.५ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ८०.८ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच छ ।

टेलिफोन सेवातर्फ ९५.५ प्रतिशत घरपरिवारमा स्थिर वा मोबाइल टेलिफोनको पहुँच रहेको छ । बागमती प्रदेशमा यो दर सबैभन्दा बढी ९७.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२.६ प्रतिशत रहेको छ । प्रत्येक पाँचमध्ये चार घरपरिवार (८२ प्रतिशत) ले इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने गरेका छन् ।

मोबाइल प्रयोग र सुर्तीजन्य पदार्थ

१५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ६.६ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने ७२.७ प्रतिशतले पछिल्ला तीन महिनामा मोबाइल प्रयोग गरेका छन् । सोही उमेर समूहका पुरुषमध्ये ९०.४ प्रतिशतसँग मोबाइल फोन रहेको र ७८.७ प्रतिशतले हालै मोबाइल प्रयोग गरेको देखिएको छ ।

सर्वेक्षणअघि एक महिनामा ५.१ प्रतिशत महिलाहरू र ४१.८ प्रतिशत पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो । १५ वर्षअघि नै ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले चुरोट वा बिँडी सेवन सुरु गरेको देखिएको छ ।

प्रजनन, मातृ तथा बाल स्वास्थ्य

कूल प्रजनन दर अनुसार प्रति महिला औसत १.९ जीवित सन्तान जन्मिने गरेको छ । १५–१९ वर्ष उमेर समूहका किशोरीमा प्रति एक हजारमा ४८ जीवित जन्म भएको छ । २०–२४ वर्ष उमेर समूहका ११.२ प्रतिशत महिलाले १८ वर्षभन्दा अगाडि नै सन्तान जन्माएको पाइएको छ ।

हालै विवाहित १५–४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गरेका छन् । आधुनिक परिवार नियोजन सेवाबाट ५५.२ प्रतिशत महिला सन्तुष्ट देखिएका छन् ।

सर्वेक्षणभन्दा दुई वर्षअघिसम्म सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराएका छन् । ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामा, ९१.४ प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र २५.३ प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएका छन् ।

बाल पोषण, खोप र शिक्षा

पाँच वर्षमुनिका बालबालिकामध्ये २४.३ प्रतिशत लिखुरे, ३१.५ प्रतिशत पुड्को, ७.६ प्रतिशत ख्याउटे र २.६ प्रतिशत बढी तौल भएका देखिएका छन् । लिखुरे बालबालिका मधेस प्रदेशमा सबैभन्दा बढी (३३.२ प्रतिशत) र बागमती प्रदेशमा सबैभन्दा कम (९.६ प्रतिशत) छन् ।

तीन आमामध्ये दुई आमाले (६९.७ प्रतिशत) छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने गरेका छन् । १२–२३ महिनाका ८०.७ प्रतिशत बालबालिकाले पहिलो वर्षमै सबै खोप पूरा गरेका छन् ।

३६–५९ महिनाका बालबालिकामध्ये ५७.९ प्रतिशत प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी भएका छन् । आधारभूत तह (कक्षा १–५) मा ४.५ प्रतिशत, कक्षा ६–८ मा ३.६ प्रतिशत र माध्यमिक तह (९–१२) मा १३.२ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् ।

खानेपानी, सरसफाइ र स्वास्थ्य बिमा

नेपालको ९८.२ प्रतिशत जनसङ्ख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरे पनि ६०.४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको छ । ९२.४ प्रतिशतले सुधारिएको चर्पी प्रयोग गरेका छन् भने ८६.४ प्रतिशत घरपरिवारमा हात धुने सुविधा उपलब्ध छ ।

स्वास्थ्य बिमामा १५–४९ वर्ष उमेर समूहका १७.८ प्रतिशत महिला र १९.६ प्रतिशत पुरुष आबद्ध रहेका छन् ।

नीति निर्माणका लागि महत्वपूर्ण आधार

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो बहुसूचक सर्वेक्षणले सङ्घीय तथा प्रदेश तहका योजना तर्जुमा, नीति निर्माण, दिगो विकास लक्ष्यको अनुगमन तथा बहुआयामिक गरिबी मापनका लागि महत्वपूर्ण तथ्याङ्कीय आधार प्रदान गर्नेछ ।

सर्वेक्षणका क्रममा देशभरका ५४० गणना क्षेत्रबाट १२ हजार ९६० घरपरिवार छनोट गरी महिला, पुरुष, बालबालिका र किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, पोषण, मानसिक स्वास्थ्य तथा खानेपानीको गुणस्तरसम्बन्धी विवरण सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।