विद्यालयमा आगालागी हुँदा दुई करोड बढीको क्षति

हुम्ला, — हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति आगालागी भएको छ । आगोले विद्यालयको दुईतले भवन पूर्ण रूपमा नष्ट भएको छ भने रु दुई करोडभन्दा बढी मूल्यका भौतिक संरचना र सामग्री जलेर नष्ट भएका छन् ।

विद्यालय शिक्षक नन्द फडेराका अनुसार आगालागी माथिल्लो तलाको झ्यालबाट सुरु भएको थियो। आगोले मुख्य प्रवेशद्वार, कक्षा कोठा र कार्यालय कोठासहित कार्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएको छ । त्यहाँ रहेको सोलार प्यानल, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, चार थान दराज, २० थान कुर्ची, तीन थान मादल, हार्मोनियम, क्यासियो, ड्रमसेट, २०५२ सालदेखि संकलित कागजात र अन्य विद्यालय सामग्री जलेर नष्ट भएका छन् ।

विद्यालय शिक्षक जमानसिंह परियारका अनुसार विद्यालय नजिक बस्ती वा आगो बाल्ने घर नभएकाले अज्ञात समूहले नियोजित रूपमा आगालागी गरेको हुनसक्ने आशंका गरिएको छ । आगलागी भएको समयमा कार्यालय कोठाको ढोका खुला रहेको पाइएको छ ।

छत्रपाल आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्मको पढाइ हुने गरेको छ। विद्यालय प्रशासनले अहिले भौतिक संरचना नष्ट भएपछि कक्षा सञ्चालनमा कठिनाइ भएको र तत्कालको व्यवस्थापनको लागि पहल गरिरहेको जनाएको छ ।