चार वर्षदेखि अलपत्र दोबागाउँ अस्पताल, पाँच शय्या भवन खण्डहरजस्तै

म्याग्दी – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ अन्तर्गत दोवागाउँको भिरालो पाखोछेउमा बनेको पालिकास्तरीय अस्पताल भवन निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

विसं २०७८ मा निर्माण सम्पन्न भएको पाँच शय्या क्षमताको उक्त भवन बाहिरबाट आकर्षक देखिए पनि भित्र भने उपकरण र जनशक्ति अभावका कारण खण्डहरजस्तै बनेको छ । करोडौँ रुपैयाँ खर्च गरेर बनाइएको अस्पताल सञ्चालनमा नआउँदा स्थानीयवासी निराश भएका छन् ।

गाउँबाट करिब १५–२० मिनेट गाडी यात्रापछि पुगिने अपायक स्थानमा रहेको अस्पतालमा न राम्रो सडक सुविधा छ, न व्यवस्थित बस्ती नै । सङ्घीय सरकारको प्रत्येक पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुसार स्थानीय सात जनाले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएपछि भवन निर्माण गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार बजेट अभाव र आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल प्रयोगमा आउन सकेको छैन । तीनै तहका सरकारको समन्वय अभावका कारण उपकरण, चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन हुन नसकेको उनको भनाइ छ ।

रविना–अमित जेभीले रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का लिएर निर्माण गरेको उक्त अस्पताल भवन १२ रोपनी सात आना दुई दाम क्षेत्रफलमा फैलिएको छ । अपाङ्गमैत्री संरचनामा आकस्मिक कक्ष, अन्तरङ्ग तथा बहिरङ्ग सेवा कक्ष, प्रयोगशाला, प्रशासनिक कक्ष, औषधि भण्डार, उपचार कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ कोठा छन् ।

अस्पताल सञ्चालनमा नआउँदा सामान्य बिरामी पर्दा समेत उपचारका लागि बेनी जानुपर्ने बाध्यता रहेको स्थानीय मनसरा गर्बुजाले गुनासो गरे ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले प्रदेश र सङ्घीय सरकारले आवश्यक स्रोतसहितको जनशक्ति व्यवस्थापन गर्न नसक्दा भूकम्पप्रतिरोधी भवन प्रयोगविहीन बनेको बताए ।