चक्लाबन्दी विधिबाट पालिकाकाे प्रशासकीय भवन निर्माण

 

म्याग्दी — म्याग्दीको रघुगङ्गा गाउँपालिकाले जग्गा व्यवस्थापनमा नयाँ अभ्यास गर्दै चक्लाबन्दी विधिबाट प्रशासकीय भवन निर्माण अघि बढाएको छ। गाउँपालिकाको केन्द्र मौवाफाँटमा जग्गाधनीको सहमतिमा जग्गा एकीकरण गरी मापदण्डअनुसार आवश्यक जग्गा गाउँपालिकालाई निःशुल्क प्राप्त भएपछि भवन निर्माणको काम अघि बढाइएको हो।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार चक्लाबन्दी र जग्गा फिर्ताको प्रक्रिया पूरा गर्न पाँच वर्ष लागेको थियो। सुरुमा २७ जना जग्गाधनीको सहमतिमा २५ रोपनी जग्गा एकीकरण गरी चक्लाबन्दी गरिएको थियो।

“एकीकृत गरिएको जग्गामध्ये १४ रोपनी जग्गा दाताले गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउनुभएको छ,” उनले भने, “बाँकी पाँच रोपनी जग्गा घडेरीका रूपमा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ।”

गाउँपालिकाका अनुसार बाँकी जग्गा उपयोग गरी भवन आसपास आठ मिटर चौडा सडकसमेत निर्माण गरिएको छ।

राज्यलाई आर्थिक भार नपर्ने गरी जग्गा व्यवस्थापन

मापदण्डअनुसार आवश्यक जग्गा प्राप्त गर्न नसक्दा कतिपय स्थानीय तहले दोस्रो कार्यकालको अन्त्यसम्म पनि आफ्नै प्रशासकीय भवन निर्माण गर्न नसकेको अवस्थामा रघुगङ्गाले भने फरक विधिबाट जग्गा व्यवस्थापन गरेको अध्यक्ष भण्डारीले बताए ।

उनका अनुसार समुदायको सहमतिमा चक्लाबन्दी गरी करोडौँ रुपैयाँ मूल्य पर्ने जग्गा निःशुल्क प्राप्त भएपछि राज्यलाई थप आर्थिक भार नपर्ने गरी प्रशासकीय भवन निर्माण सम्भव भएको हो।

गाउँपालिकाले चालु आर्थिक वर्षभित्र आफ्नै बजेटबाट भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

“पालिकाको सेवा सरल, सहज र पूर्वाधारयुक्त बनाउन हामीले गौरवको योजना अघि बढाएका हौँ,” अध्यक्ष भण्डारीले भने। उनले प्रशासकीय भवन निर्माणका लागि जग्गाधनी तथा स्थानीय समुदायको योगदान महत्वपूर्ण रहेको बताए ।

तीनतले ३३ कोठे भवन बन्दै

प्रशासकीय भवन निर्माणका लागि कुल रु नौ करोड ४० लाख ४४ हजार ७५५ लागत अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड ३१ लाख ९८ हजारको लागतमा ठेक्कामार्फत भवनको भुइँतला र पहिलो तला ढलान गरिएको थियो।

तीनतले ३३ कोठे भवनको बाँकी निर्माण कार्यका लागि २०८३ असार २ गते रु पाँच करोड ९८ लाख दुई हजार ३१६ मा सिवी–मातृभूमि–एम एण्ड बी जेभीसँग ठेक्का सम्झौता गरिएको गाउँपालिकाका सबइन्जिनियर कमल चोखालले जानकारी दिए ।

ठेक्काको म्याद आगामी २०८४ असारसम्म रहेको भए पनि लक्ष्यभन्दा अगावै भवन निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण व्यवसायीले बताएका छन्। वर्षायाममा समेत उपकरण, मजदुर तथा निर्माण सामग्रीको व्यवस्थापन गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ।

नयाँ भवनबाट सेवा, पुरानो भवन कर्मचारी आवास

गाउँपालिकाले हाल मौवाफाँटस्थित बहुउद्देश्यीय भवनबाट सेवा प्रवाह गर्दै आएको छ। नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि नागरिकलाई थप सहज र व्यवस्थित रूपमा सेवा दिने गाउँपालिकाको योजना छ।

हाल प्रयोग भइरहेको बहुउद्देश्यीय भवनलाई कर्मचारी आवासगृहका रूपमा प्रयोग गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।

जग्गा प्राप्तिका लागि लामो समयदेखि देखिँदै आएको समस्यालाई स्थानीय जग्गाधनीको सहमति र चक्लाबन्दीमार्फत समाधान गर्दै रघुगङ्गाले आफ्नै प्रशासकीय भवन निर्माण अघि बढाएको हो। यसले स्थानीय तहका लागि सार्वजनिक पूर्वाधार निर्माणमा समुदायको सहभागितामार्फत जग्गा व्यवस्थापनको नयाँ उदाहरणसमेत प्रस्तुत गरेको छ।