अझै हुन सकेन गाउँ सभा

सिन्धुलीमाढी, माघ १७ गते । सिन्धुली जिल्लामा माघ महिनाको दोस्रो साता बित्दा पनि चारवटा पालिकाले अझै गाउँ सभा गर्न सकेका छैनन् । जिल्लाका हरिहरपुरगढी, गोलन्जोर, सुनकोसी र मरिण गाउँपालिकाले तयारी नपुगेको बताउँदै आएका छन् ।

जिल्लाका नौवटा पालिकामध्ये कमलामाई, दुधौली नगरपालिका, घ्याङलेख, तीनपाटन र फिक्कल गाउँपालिकाले हिउँदे अधिवेशन (गाउँ÷नगर सभा) पुस मसान्तभित्र गरिसकेका छन् । सामान्यतया पुस मसान्तभित्रै गरी सक्नुपर्ने हिउँदे अधिवेशन चालू आर्थिक वर्षका लागि विनियोजित बजेट र नीति तथा कार्यक्रमको प्रगतिमाथि छलफल, योजना संशोधन, कार्यक्रमको समीक्षा र ऐन, कानुन, कार्यविधि पारितलगायतका काम गर्न महत्वपूर्ण मानिन्छ ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोराले हिउँदे अधिवेशन गर्न तयारी नपुगेकाले फागुन महिनाको पहिलो शुक्रबार गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँ सभा पुस मसान्तभित्र गरिसक्नु पर्छ भन्ने छैन । आफ्नो अनुकूलको समयमा गर्ने हो, गर्नै पर्छ भन्ने पनि छैन ।”

मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान पनि यो अवधिमा अध्यक्ष कप खेलकुद प्रतियोगिता गरेकाले व्यस्त हुँदा गाउँ सभा गर्न ढिलाइ भएको बताउनुहुन्छ । “अब यही माघ २० गते गर्ने भनेर कार्यपालिका बैठकबाट निर्णय भइसकेको छ,” उहाँले भन्नुभयो, “गाउँ सभामा योजनाहरू संशोधन, केही नीति, नियम र कार्यविधि बनाउने काम भइरहेको छ ।

अहिले त्यही तयारीमा खटिइरहेका छौँ ।”हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङ अझै गाउँ सभा कहिले गर्ने भन्ने टुङ्गो नभएको बताउनुहुन्छ । गाउँपालिकाका अध्यक्षको फुर्सद नभएको र अन्य विविध कारणले गाउँ सभा हुन नसकेको उहाँको भनाइ छ ।

यस्तै गोलन्जोर गाउँपालिका अध्यक्ष शङ्कर बराल कार्यपालिकाको बैठकले माघ महिनाको २८÷२९ गतेतिर गाउँ सभा गर्ने मिति तोकेको र सोहीअनुसार तयारी भइरहेको बताउनुहुन्छ