वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी, चार किल्लाभित्र आवागमन निषेध

पर्सा, – जिल्ला प्रशासन कार्यालय पर्सा ले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।

आइतबार साँझ युवा समूहबीच झडप भएपछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल का अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा कफ्र्यु लागू गरिएको छ । तोकिएको चार किल्लाभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न पूर्ण रोक लगाइएको छ ।

यद्यपि अत्यावश्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी, परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवार गाडी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको प्रशासनले जनाएको छ ।

हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा समेत सुरक्षाकर्मीबाट सहजीकरण गरिने जनाइएको छ ।