काठमाडौँ – काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सोमबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारका लागि ६ वटा सामुदायिक विद्यालयमा विशेष कक्षा सुरु गरेको छ। गत वर्ष एसईईमा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ विद्यालयलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको छ । यी विद्यालयका ५२३ विद्यार्थी विशेष कक्षामा सहभागी हुनेछन् ।
न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात, नवयुग, नेपाल आदर्श, भक्त विद्याश्रम र नन्दी रात्री माध्यमिक विद्यालयमा चैत ३ गतेपछि कक्षा सञ्चालन गरिनेछ, जहाँ १०४ विद्यार्थी सहभागी हुनेछन् । यसरी दुवै समूहका गरी ६२७ विद्यार्थी (कुल परीक्षार्थीको करिब १३ प्रतिशत) लाभान्वित हुनेछन् ।
विषय विज्ञ, स्रोत शिक्षक र सेवा निवृत्त शिक्षकहरूले कक्षा सञ्चालन गर्नेछन् ।
कार्यक्रमको शुभारम्भ गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले परीक्षाको डर हटाई आत्मविश्वास बढाउने, उत्तर लेख्ने सीप सिकाउने उद्देश्यले विशेष कक्षा सञ्चालन गरिएको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले मिहिनेत र समयमै तयारीको महत्व औंल्याए ।
शिक्षा विभाग प्रमुख नमराज ढकालले निरन्तर अभ्यास नै सफलताको मूल मन्त्र भएको बताउँदै यस वर्ष विद्यालयमै विशेष कक्षा सञ्चालन गरिएको जानकारी दिए । अघिल्लो वर्ष विद्यार्थीलाई अन्य विद्यालयमा केन्द्रित गर्दा आवतजावत र हीनताबोधको समस्या देखिएकाले यसपटक आफ्नै विद्यालयमा कक्षा राखिएको शिक्षा अधिकृत केशव ज्ञवालीले बताए ।
यस वर्ष महानगरभित्रका सामुदायिक विद्यालयबाट करिब ४ हजार ५५७ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । २०८१ को एसईईमा ७८९ विद्यार्थीले ३.६१–४ जीपीए प्राप्त गरेका थिए, जसमा १७ जनाले ४ जीपीए ल्याएका थिए। यो संख्या २०८० को तुलनामा ४४.७७ प्रतिशतले बढी हो। २०८१ मा ३.२१–३.६ जीपीए ल्याउने १,१४८, २.८१–३.२ जीपीए ल्याउने ८९०, २.४१–२.८ जीपीए ल्याउने २५७ र २.०१–२.४ जीपीए ल्याउने १६ विद्यार्थी थिए ।
महानगरले दिवा खाजा, ‘पुस्तक रहित शुक्रवार’, शिक्षक तालिम, डिजिटल क्रियाकलाप र व्यवस्थापकीय सुधारजस्ता कार्यक्रममार्फत शैक्षिक वातावरण सुधारको प्रयास गरिरहेको जनाएको छ ।



