सुदूरपश्चिमको बजेट २९ अर्ब २६ करोड

काठमाडौँ, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि सात अर्ब ४८ करोड पाँच लाख कम बजेट ल्याएको छ। चालु आर्थिक वर्षको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ रहेको थियो।

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले चालुतर्फ नौ अर्ब ५९ करोड ६० लाख (३२.७९ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख (५८.१६ प्रतिशत) बजेट विनियोजन गरेको छ। यसैगरी, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ दुई अर्ब ३४ करोड ७५ लाख (८.०२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३० करोड (१.०३ प्रतिशत) बजेट विनियोजन गरेको छ।

सरकारले प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रका लागि तीन÷तीन करोडका दरले बजेट विनियोजन गरेको छ । सो कार्यक्रमका लागि कुल ९६ करोड रुपियाँ बजेट विनियोजन भएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि खर्च ब्यहोर्ने स्रोतहरुमा आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ५० करोड रुपियाँ रहेको छ। यसैगरी, नेपाल सरकार राजस्व बाँडफाँटबाट नौ अर्ब ४१ करोड १७ लाख, संघीय रोयल्टी बाँडफाँटबाट छ करोड ५६ लाख रुपियाँ प्राप्त हुने अनुमान रहेको मन्त्री शाहीले जानकारी दिनुभयो।

यस्तै, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणबाट प्राप्त हुने रकम आठ अर्ब ५२ करोड तीन लाख, चालु आवको विनियोजनबाट बचत हुने अनुमानित रकम तीन अर्ब ८६ करोड ६७ लाख रुपियाँ स्रोतको रुपमा रहेको छ । यसैगरी, शसर्त अनुदानबाट चार अर्ब ५१ करोड १६ लाख, वित्तीय समानीकरणबाट ७७ करोड र विशेष अनुदानबाट ६२ करोड रुपियाँ प्राप्त हुने जनाइएको छ।