दुई गाउँ जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी — म्याग्दीको रत्नेचौर गाउँ र बागलुङको कुडुले गाउँलाई जोड्ने ढोडेनी खोलामाथि निर्माण गरिएको झोलुङ्गे पुल पछिल्लो समय स्थानीय बासिन्दाका लागि सहज आवागमनको माध्यम मात्र नभई पर्यटकीय आकर्षणको केन्द्रका रूपमा समेत परिचित बन्दै गएको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर लामो तथा करिब १७० मिटर उचाइको उक्त पुलबाट आसपासका रमणीय प्राकृतिक दृश्यावलोकन गर्न पाइने भएकाले यहाँ पुग्ने पर्यटकको संख्या बढ्न थालेको स्थानीयवासीले बताएका छन्। रत्नेचौरकी सुशीला भण्डारीका अनुसार म्याग्दीको रत्नेचौर तथा बागलुङको पञ्चकोट र कुडुलेस्थित शालग्राम सङ्ग्रहालय अवलोकनका लागि आउने पर्यटकहरू पुलमा पुगेर प्राकृतिक दृश्यावलोकन गर्दै रमाउने गरेका छन्।

संघीय सरकारअन्तर्गत ‘सस्पेन्सन ब्रिज’ डिभिजनले करिब तीन वर्षअघि २०७९ सालमा ढोडेनी खोलामाथि करिब तीन करोड ५० लाख रुपैयाँ लागतमा उक्त पुल निर्माण गरेको हो । पुल निर्माणपछि दुई जिल्लाबीचको आवागमन निकै सहज भएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

उनको अनुसार पुल निर्माणअघि कुडुले पुग्न करिब एकदेखि डेढ घण्टासम्म हिँड्नुपर्ने अवस्था थियो । तर अहिले पुल बनेपछि सो दूरी पाँच मिनेटमै पार गर्न सकिने भएको छ। “पुलले आवागमन सहज बनाएको मात्र होइन, रत्नेचौरमा उत्पादन हुने तरकारी र दूधको बजारीकरणमा पनि सहयोग पुगेको छ,” वडाध्यक्ष थापाले भने, । साथै बागलुङको पञ्चकोट र कुडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आउने धार्मिक पर्यटकहरू पनि पुल हुँदै रत्नेचौर पुग्ने क्रम बढेको उनले बताए ।

बेनी–बागलुङ सडकखण्डको पूर्वतर्फ रत्नेचौरस्थित श्रीलक्ष्मीहरि मन्दिर नजिक निर्माण गरिएको पुलले अर्जम, रत्नेचौर, ज्यामरुककोट, फापरखेत, खबरा, फेदी, कुडुले, बान्द्रे र भान्सालगायतका गाउँका बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको स्थानीय मेखबहादुर बोगटीले बताए । उनका अनुसार पुलका कारण कृषि उपजको बजारीकरण र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ ।

पुल बनेपछि बागलुङ आएका पर्यटकहरू रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर तथा धवलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित पोखरीका रूपमा चिनिने बुढोपोखरी अवलोकनका लागि पनि पुग्ने गरेका छन् ।

म्याग्दी जिल्लामा तीन सय मिटरभन्दा लामा झोलुङ्गे पुलहरू निर्माण गर्ने क्रम पछिल्ला वर्षहरूमा बढेको छ । यसअघि रघुगङ्गा गाउँपालिका–१ को बेग र बादुक जोड्ने ३६५ दशमलव ८० मिटर लामो तथा १४८ मिटर उचाइको पुल निर्माण गरिएको थियो । त्यस्तै मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भइसकेको छ ।