खोलाको बालुवादेखि मन्त्रिसम्म : सीता बादीको संघर्षमय यात्रा

काठमाडौँ, – कर्णालीको एउटा नदी किनारबाट सुरु भएको संघर्षपूर्ण जीवनयात्रा आज संघीय सरकारको मन्त्रिपरिषद्सम्म पुगेको छ । आर्थिक अभाव, सामाजिक विभेद र अपमानका बीच हुर्किएकी सीता बादी अहिले बादी समुदायबाट संघीय सरकारको मन्त्री बन्ने पहिलो महिला बनेर इतिहास रच्न सफल भएकी छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ नयाँगाउँमा जन्मीएकी उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुन् । शुक्रबार गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकारमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकीछन् ।

विसं. २०५२ भदौ २३ गते जन्मीएकी बादीको बाल्यकाल अभाव र संघर्षले भरिएको थियो । उनका आमाबुबाले सुर्खेतको झुप्रा खोला र भेरी नदी किनारमा बालुवा चालेर परिवारको गुजारा चलाउथे । बाल्यकालमै परिवारसँगै खोला किनारमा श्रम गर्दै दिन बिताउनुपर्ने अवस्था थियो ।

कमजोर आर्थिक अवस्थाका कारण पढाइ सहज थिएन । तर शिक्षाप्रतिको दृढ इच्छाशक्तिले उनलाई अघि बढायो । भेरीगंगा नगरपालिकाको ‘सत्तरी’ भन्ने स्थानबाट प्राथमिक तहको शिक्षा सुरु गरेकी उनी १३ वर्षको उमेरमै पढाइका लागि एक संस्थाको सहयोगमा काठमाडौँ आइन् ।

कठिन संघर्षका बीच उनले अध्ययनलाई निरन्तरता दिँदै राजनीतिक शास्त्रमा स्नातकोत्तर तहसम्मको उपाधि हासिल गरिन् ।

शिक्षा हासिल गरेपछि उनी समाजसेवा र अधिकारका क्षेत्रमा सक्रिय भइन् बादी समुदायका महिला तथा बालबालिकालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, सचेतना कार्यक्रम र सामाजिक अभियान सञ्चालन गर्दै समुदायमा परिवर्तन ल्याउने प्रयास गरिन् ।

त्यसपछि उनी राजनीतिमा सक्रिय भइन् र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य बनिन् । विगतका दिनमा उनले दलित, बादी तथा अन्य सीमान्तकृत समुदायका हकअधिकारका विषयमा आवाज उठाउँदै आएकी छन् ।

मन्त्री पदमा पुग्दा भावुक

मन्त्री पद सम्हाल्दै उनले आफ्नो विगत सम्झँदै भावुक भईन् । “यो स्थानमा पुगिएला भन्ने कल्पना पनि गरेकी थिइनँ । मेरो विगत र पृष्ठभूमि निकै असहज थियो,” उनले भनिन्, “परिवार सम्झँदा आजको यो क्षणले मलाई निकै भावुक बनाएको छ ।”

परिवर्तनको संकल्प

मन्त्री बादीका अनुसार महिला हिंसा, अपाङ्गता भएका व्यक्तिका समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकका अधिकारका विषयलाई नीतिगत तहबाट सम्बोधन गर्ने उनकोे प्राथमिकता हुनेछ ।

कमजोर आर्थिक अवस्था, शिक्षाबाट वञ्चित, भूमिहीन तथा सीमान्तकृत समुदायका समस्या समाधान गर्न स्पष्ट नीति निर्माण गरी कानूनमार्फत कार्यान्वयन गर्ने उनको योजना छ ।

उनले भ्रष्टाचार नियन्त्रण, दलित समुदायको सम्मानजनक जीवन, सेवा प्रवाहमा सुधार, महिला सशक्तीकरण, बाल संरक्षण, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नदी किनारमा बालुवा चाल्ने बाल्यकालदेखि संघीय मन्त्रिपरिषद्सम्मको सीता बादीको यात्रा केवल व्यक्तिगत सफलता होइन, सिङ्गो बादी समुदायको सम्मान र पहिचानको कथा पनि हो ।

संघर्ष, शिक्षा, समाजसेवा र राजनीतिक प्रतिबद्धताले उनलाई परिवर्तनको प्रतीक बनाएको छ । उनको यात्रा अब नयाँ पुस्ताका युवती र सीमान्तकृत समुदायका लागि प्रेरणाको स्रोत बन्ने निश्चित देखिन्छ।