काठमाडौँ – प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएको जिम्मेवारीलाई जवाफदेहीपूर्ण र परिपक्व ढङ्गले सदनमा प्रस्तुत हुँदै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभाको आजदेखि सुरु हुने पहिलो अधिवेशनका सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै सांसदहरूले देश र जनताका हितमा बन्ने कानुन तथा जनसरोकारका मुद्दा सम्बोधन गर्न सत्ता र प्रतिपक्ष दुवै मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सुहाङ नेम्वाङले यस पटक सदनमा सत्ता र प्रतिपक्षको भावना भन्दा माथि उठेर देश र जनताको समृद्धि तथा कल्याणका लागि सहकार्य गरिने बताए । उनले सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन तथा आलोचना गरिने उल्लेख गर्दै असल काममा रचनात्मक सुझाव दिने र अनावश्यक विरोध नगर्ने बताए ।
त्यस्तै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरत खड्काले कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने पार्टी भएकाले संसद्मा परिपक्व र जिम्मेवार ढङ्गले प्रस्तुत हुने धारणा व्यक्त गर्नुभयो। उहाँले विगतमा सरकार सञ्चालनका क्रममा भएका कमजोरी स्वीकार गर्दै पार्टीलाई सुधार गरी समयसापेक्ष बनाउँदै लैजानुपर्ने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रतिपक्षको भूमिकामा रहेर विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाइने बताए । उनका अनुसार किसानलाई राहत, युवालाई स्वदेशमै रोजगारी सिर्जना, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने तथा प्रदेश मन्त्रिपरिषद्को सङ्ख्या घटाउने विषयलाई आगामी अधिवेशनमा उठाइनेछ । साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न संविधान संशोधनको विषय पनि महत्त्वका साथ उठाइने बताए ।
आर्थिक समृद्धिका योजनामा जोड दिन सुझाव
सङ्घीय संसद्का पूर्वमहासचिव डा. भरतराज गौतमले वर्तमान सरकार र संसद्ले गरिबीको रेखामुनि रहेका ठूलो जनसङ्ख्यालाई माथि उकास्न आर्थिक समृद्धि र विकासका ठोस योजना बनाउनुपर्ने सुझाव दिए ।
उनले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै आगामी बजेटमार्फत विकास र आर्थिक एजेन्डालाई प्राथमिकता दिनुपर्ने बताउँदै आर्थिक विकासबिना अन्य क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्न कठिन हुने धारणा व्यक्त गरे ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुन लागेको हो ।



