काठमाडौंमा आउने वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले तय गरेको उत्तर–दक्षिण रुट लगनखेलबाट सुरु भएर पाटन अस्पताल, नर्भिक, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । त्यस्तै पूर्व–पश्चिम रुट थानकोटदेखि सुरु भएर सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म हुनेछ ।

यी दुबै रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ भने बस स्टपमा प्रत्येक २० मिनेटको अन्तरालमा बस उपलब्ध हुनेछ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् कि बेलुका सार्वजनिक यातायात नहुँदा यात्रुलाई महँगो र असुविधाजनक यात्रा गर्नुपर्ने बाध्यता थियो । यसले विशेषगरी किशोरी, महिला र विद्यार्थीहरुमा समस्या सिर्जना गरेकोले रात्रिकालीन सेवा सुरु गर्ने निर्णय गरिएको हो । बसमा सीसीटिभी क्यामरा जडान हुनेछ भने सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था पनि रहनेछ ।

महानगरपालिकाले यसलाई अत्याधुनिक, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ र यसका लागि साझेदार संस्थाहरूसँग सहकार्य गर्न पनि तयार रहेको जनाएको छ ।