म्याग्दी – धवलागिरि गाउँपालिका–१ स्थित दुर्गम बस्ती गुर्जा सडक सञ्जालमा जोडिएको छ। गुर्जा जोडिएसँगै म्याग्दी जिल्लाका छवटै स्थानीय तहका ४५ वटै वडामा सडक पहुँच पुगेको छ ।
धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको ट्र्याक खोलिएको छ । सोही मार्ग हुँदै बिहीबार पहिलोपटक ‘बिएए ७८४६’ नम्बरको जिप गुर्जा पुगेको वडा अध्यक्ष झक छन्त्यालले जानकारी दिए ।
उनका अनुसार अघिल्ला तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको ट्र्याक खुलिसकेको थियो। चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्र्याक निर्माण भएपछि गुर्जालाई यातायात सञ्जालसँग जोड्ने काम अन्तिम चरणमा पुगेको छ। अब थप एक किलोमिटर मार्ग विस्तार गरेर आगामी एक साताभित्र गुर्जा गाउँसम्मै सवारी साधन पुर्याउने तयारी गरिएको छ ।
चालु आर्थिक वर्षमा यस योजनाका लागि रु एक करोड ७० लाख बजेट विनियोजन गरिएको छ। ठेक्का पाएको लुलु कन्ट्रक्सनले गत पुसमा रु ८८ लाख ८५ हजारमा सम्झौता गरेर निर्माणकार्य अघि बढाएको हो ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार आर्थिक वर्ष २०७९/८० देखि सुरु गरिएको लुलाङ–गुर्जा सडक गाउँपालिकाको गौरवको प्राथमिकताप्राप्त योजना हो। दुई वर्षअघिसम्म गुर्जादेखि लुलाङ पुग्न भिर, जङ्गल र खोल्सा पार गर्दै पूरै दिन पैदल यात्रा गर्नुपर्ने अवस्था थियो।
हाल गाडी पुग्ने स्थानबाट पाँच मिनेट पैदल हिँडेपछि गुर्जा पुग्न सकिने भएको छ । गत फागुनमा पाल्टनसम्म पुगेको सडक निर्माणकार्य डोजर बिग्रिएका कारण केही समय रोकिए पनि केही दिनअघि पुनः सञ्चालन गरिएको थियो ।
रेशमबहादुर जुग्जाली (सुविन), जो गण्डकी प्रदेश सभामा म्याग्दी–१ (१) बाट निर्वाचित सदस्य हुनुहुन्छ, उनले गुर्जासहित म्याग्दीका सबै वडामा सडक पुगेको बताए । तीनै तहका सरकार र स्थानीय समुदायको सहकार्यबाट दुर्गम गुर्जालाई सडक सञ्जालमा जोड्न सफल भएको उनको भनाइ छ ।
सडक खुलेपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ । यसअघि भने गुर्जादेखि मुना पुग्नै पूरै दिन पैदल हिँड्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताए ।
सवारी साधन सञ्चालन हुन थालेपछि बिरामीलाई अस्पताल पुर्याउन, कृषि तथा पशुजन्य उत्पादन र जडीबुटी बजारीकरणमा सहज भएको स्थानीयवासीको भनाइ छ । सडक पहुँचसँगै गुर्जामा पर्यटकको चहलपहल पनि बढ्न थालेको छ ।
सडकलाई थप स्तरोन्नति गर्न मार्गको ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, साँघुरा स्थान फराकिलो बनाउने तथा पक्की नाला निर्माण गर्ने योजना अघि बढाइएको छ । यसका लागि सहरी विकास मन्त्रालयले रु तीन करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ ।
गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणसमेत सुरु गरेको छ । पुल बनेपछि दैनिक उपभोग्य सामग्री ढुवानी र बिरामीलाई अस्पताल पुर्याउन अझ सहज हुने अपेक्षा गरिएको छ ।
गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ। एउटै बस्ती एकै वडामा समेटिएको गुर्जामा २६५ घरधुरी र एक हजार ५०५ जनसंख्या रहेको जनाइएको छ ।



