काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानूनको दायराभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रवार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने बताएका छन्। उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने प्रतिवद्धता दोहोर्याए।
अर्यालले भने, “मैले जुन जिम्मेवारी पाउदै छु, यो निर्णय अझ प्रक्रियामा छ। त्यसकारण प्रक्रिया सकिएर मैले त्यो जिम्मेवारीमा पुगेँ भने नेपालको संविधान, कानून र नेपाली जनताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्यायसम्मत तरिकाले गर्नेछु।”
उनले स्पष्ट पारे कि आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि रहेको हो । साथै, उनले आफ्नो कार्यकालमा व्यवस्थापकीय कामलाई पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।



