मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ – नेपाल–चीन सीमा नाका कोरलाबाट भन्सार छलेर ल्याइँदै गरेको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ ।

मुस्ताङको लोमान्थाङ–१ छोसेर न्हेचुङस्थित भन्सार कार्यालयले शनिबार दुई वटा मालवाहक कन्टेनरबाट ५९२ कार्टुन भेप बरामद गरेको हो ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना ६ ख ४७४३ र ना५ख ७९२१ नम्बरका कन्टेनरहरू शङ्कास्पद अवस्थामा कोरलानाकामा रोकिएका थिए ।

शनिबार सार्वजनिक बिदाको अवसर पारेर भन्सार छली गर्दै कन्टेनर लोमान्थाङतर्फ ल्याइँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको संयुक्त टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

भन्सार कर्मचारी तिजी पर्व हेर्न गएको मौका छोपी अवैध रूपमा सामान ओसारपसार गर्न खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा कन्टेनरभित्र ठूलो परिमाणमा लुकाइएका भेप फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक कार्टुनमा २२० वटा भेप रहेको छ । त्यसका आधारमा दुई कन्टेनरमा करिब एक लाख २० हजारभन्दा बढी भेप रहेको अनुमान गरिएको छ ।

हाल स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको रोहवरमा बरामद सामग्रीको परिमाण तथा अनुमानित मूल्यसहित भन्सार मुचुल्का तयार गर्ने काम भइरहेको छ ।

कन्टेनर चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

स्रोतका अनुसार ती कन्टेनर दुई दिनदेखि नेपाल–चीन सीमा क्षेत्रको २४ नम्बर सीमास्तम्भ नजिक शङ्कास्पद रूपमा रोकिएका थिए ।

भन्सार कार्यालयले चिनियाँ भन्सारबाट सामान लोड भएर नेपाल प्रवेश गरेपछि कन्टेनर तल नझरेको देखेपछि निगरानी बढाएको थियो ।

प्रहरी स्रोतका अनुसार भेप तस्करीमा संलग्न समूहले सुरक्षा निकायलाई देखाउन नक्कली कागजातसमेत तयार गरिरहेको आशंका गरिएको छ ।

यसअघि पनि चालु आर्थिक वर्षको पुस ९ गते कोरलानाकाबाट रु दुई करोड २४ लाख बराबरको १६ हजार थान भेप बरामद गरिएको थियो । गत वर्ष पनि सोही नाकाबाट रु ६ करोड ८१ लाख मूल्य बराबरको भेप पक्राउ परेको थियो ।