अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं, चैत २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री भए लगत्तैदेखि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

लगानीको वातावरण, ब्याजदर नियन्त्रण तथा अर्थतन्त्रमा सकारात्मक पहलका लागि सरकार गम्भीर रहेको पनि उहाँले बताउनुभयो ।

‘बाह्य कारणबाट अर्थतन्त्रको आन्तरिक अवस्था केही समस्या परेको थियो । अब हामी सहज अवस्थातर्फ जाँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘बैंकको ब्याजदर घटाएर लगानीको मनोबल बढाउन, पूँजीगत खर्च बढाएर बजार चलायमान गराउन र अन्य नीतिगत समाधानका लागि सरकारका सबै निकाय एक ठाउँ भएर काम गरिरहेका छन् ।’