काठमाडौं – भन्सार विभाग ले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सातौँ भन्सार सुधार योजना कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। चालु आर्थिक वर्षमा छैटौँ पञ्चवर्षीय योजना सम्पन्न हुँदै गर्दा नयाँ रणनीतिक योजना तयार पार्न विभाग सक्रिय भएको हो।
उद्योगी र व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी ले आगामी योजना ‘उत्पादनमुखी अर्थतन्त्र’ निर्माणमा केन्द्रित हुने जानकारी दिनुभयो।
उनका अनुसार नयाँ योजना भन्सार दरहरूको पुनरावलोकन र व्यापार सहजीकरणलाई प्राथमिकता दिनेछ। भन्सार विभागको राजश्व परामर्श समितिको उपसमितिले निजी क्षेत्रबाट ठोस सुझाव संकलन गर्ने तयारी गरिरहेको छ। भण्डारीले सुझाव शुक्रवारको बैठकअघि उपलब्ध गराउन उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभयो।
“आगामी सुधार योजना मार्फत भन्सार प्रशासनलाई उद्योगमैत्री बनाउन, व्यापार सहजीकरण र दीर्घकालीन नीति तय गर्न यो उपयुक्त समय हो,” उनले भने।
विभागले निजी क्षेत्रका सुझावलाई समावेश गरी आगामी बजेटमा प्रस्ताव गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ। भण्डारीले मुलुकमा स्थायित्व र नीतिगत स्थिरतालाई उद्योगीमैत्री सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
यस योजना लागू भएपछि भन्सार प्रणाली सरल, पारदर्शी र उत्पादनमुखी अर्थतन्त्रसँग अनुकूल हुने अपेक्षा गरिएको छ।



