अदुवा बिक्रीबाट त्रिवेणीमा पाँच करोडभन्दा बढी आम्दानी

रुकुम पश्चिम – जिल्लाको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु पाँच करोड ५६ लाख ५० हजार आम्दानी भएको छ । पालिकाभर दुई हजार ६५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो ।

गाउँपालिकाको कृषि शाखा प्रमुख ऐनबहादुर कार्की का अनुसार यस वर्ष पालिकाभर १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको थियो । अदुवा खेती गर्ने दुई हजार ६५० घरधुरीमध्ये प्रत्येक किसानले करिब दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन्। यस अनुसार पालिकाभर करिब पाँच हजार ३०० रोपनी क्षेत्रफलमा अदुवा उत्पादन भइरहेको छ ।

एक रोपनी जमिनमा करिब तीन क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको उनले बताए । किसानहरूले गाउँबाटै प्रतिक्विन्टल रु तीन हजार ५०० मा अदुवा बिक्री गरेका छन् । व्यापारीहरू अदुवा खरिद गर्न गाउँमै आउने गरेका कारण किसानलाई बजारको समस्या नभएको कार्कीले जानकारी दिए ।

त्रिवेणी–४ खुम्चेरीका किसान नरे खड्का ले यस वर्ष अदुवा बिक्रीबाट करिब रु एक लाख आम्दानी भएको बताए । विगत २२ वर्षदेखि निरन्तर अदुवा खेती गर्दै आउनुभएका खड्काले उत्पादन भएकोमध्ये करिब साढे तीन क्विन्टल अदुवा आगामी वर्षका लागि बीउका रूपमा राखेको जानकारी दिए ।