राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

घोराही, माघ २५ गते । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखका लागि मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

मतदानका लागि समय दिउँसो ३ बजेसम्म समय तोकिएको छ । लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३ सय ५ रहनुभएको छ । जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहनुभएको छ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ ।