पोखरा – देशका छ वटा महानगरमध्ये भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा महानगर प्रमुख धनराज आचार्यले ‘समुन्नत पोखराको आधार ः सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने लक्ष्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
महानगर प्रमुख आचार्यले निर्वाचनका क्रममा गरिएका प्रतिबद्धतालाई समेट्दै पर्यटकीय पोखराको दीर्घकालीन विकास, पूर्वाधार विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यसहित आगामी वर्षका कार्यक्रम तयार गरिएको बताए ।
महानगरले आगामी वर्षका लागि ३५ बुँदामा विशेष अभियान तथा प्रोत्साहन कार्यक्रम अघि सारेको छ ।
पर्यटन प्रवद्र्धनमा नयाँ अभियान
पोखरा आउने पर्यटकलाई स्थानीयस्तरबाट आवश्यक जानकारी उपलब्ध गराउँदै स्वागत गर्ने उद्देश्यले ‘एक पर्यटक, एक मित्र अभियान’ सञ्चालन गरिने भएको छ ।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न ताल, हिमाल, संस्कृति र साहसिक पर्यटनलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने नीति महानगरले लिएको छ ।
फेवाताल, बेगनास ताल, रुपाताल लगायतका ताल तथा ऐतिहासिक पोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै वातावरण संरक्षणलाई प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ ।
सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल संरक्षण, मापदण्ड कार्यान्वयन, ताल आसपास हरियाली क्षेत्र, सार्वजनिक पार्क तथा पर्यावरणीय पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने जनाइएको छ ।
त्यस्तै पोखरा–भरतपुर–लुम्बिनी ‘सिल्भर ट्रियाङ्गल’ अवधारणाअन्तर्गत संयुक्त पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ ।
हरित पोखरा अभियान
महानगरले प्रत्येक वडा, विद्यालय, सामुदायिक वन तथा सार्वजनिक क्षेत्रमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
महानगर क्षेत्रमा रहेका १०० वर्ष पुराना ऐतिहासिक रुखहरूको अध्ययन गरी जीपीएस नक्साङ्कनसहित अभिलेख तयार गरिने नीति कार्यक्रममा उल्लेख छ ।
वृक्षरोपण र हरियाली प्रवद्र्धनमा उत्कृष्ट तीन विद्यालय, तीन सरकारी कार्यालय, पाँच टोल विकास संस्था र सात आमा समूहलाई वार्षिक ‘ग्रीन अवार्ड’ प्रदान गरिने भएको छ ।
सुशासन र सेवा प्रवाहमा सुधार
महानगरले सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने नीति लिएको छ ।
महानगरलाई आर्थिक दायित्व पर्ने अनावश्यक संरचना हटाउने, अनलाइन सेवाको विस्तार गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने घोषणा गरिएको छ ।
सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउन विशेष अभियान सञ्चालन गरिने भएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकता
शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ८ को परीक्षा समूह विद्यालय केन्द्रमा सञ्चालन गर्ने व्यवस्था निरन्तरता दिइने भएको छ ।
उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्ने तथा प्रधानाध्यापकहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रोत्साहन दिने नीति महानगरले अघि सारेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै बीमा सञ्चालन भएका स्वास्थ्य संस्थाको पहुँच विस्तार गर्ने तथा निजी स्वास्थ्य संस्था र औषधि पसलको अनुगमन प्रणाली सुदृढ बनाउने नीति लिइएको छ ।
प्रदेश सरकारसँगको समन्वयमा निजी तथा सरकारी स्वास्थ्य संस्थामा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गरिने जनाइएको छ ।
पूर्वाधारमा ठूला आयोजना अघि बढाइने
महानगरले वडा केन्द्र जोड्ने सडक तथा सहरी सडकलाई क्रमशः अस्फाल्ट र कंक्रिटमा स्तरोन्नति गर्ने जनाएको छ ।
सार्वजनिक–निजी साझेदारीमा पातले छाँगोमा सिसा पुल निर्माण, सेती खोंचमा ‘क्यान्टिलिभर वाक’, फोहरमैला प्रशोधन केन्द्र, व्यवस्थित वधशाला, विन्ध्यवासिनी बसपार्क स्तरोन्नति र बेगनासतालमा वाटर स्पोट्र्स परियोजना अघि बढाउने योजना सार्वजनिक गरिएको छ ।
नगर विकास कोष र एसियाली विकास बैंकसँगको साझेदारीमा आधुनिक पोखरा बसपार्क र पोखरा सभागृह निर्माण प्रक्रिया अघि बढाइने पनि नीति कार्यक्रममा उल्लेख छ ।
सम्पदा र संस्कृति संरक्षणमा जोड
पोखराका पुराना तथा ऐतिहासिक बजारलाई सम्पदा र सांस्कृतिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।
परम्परागत जात्रा, पर्व, मेला, पूजा, जीवनशैली तथा सांस्कृतिक सम्पदाको परिचयात्मक प्रोफाइल तयार गरिने भएको छ ।
फिर्केखोलालाई पर्यावरण, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजना पनि नीति कार्यक्रममा समेटिएको छ ।
फिर्केखोलाको दायाँ–बायाँ फुटट्रेल, सुरक्षित साइकल लेन, पदमार्ग, हरियाली बेल्ट र वातावरणमैत्री खुला क्षेत्र निर्माण गर्ने महानगरको लक्ष्य छ ।



