काठमाडौं – बागमती किनारको कथा केवल नदीको बहाव होइन, समयसँग जुधिरहेका मानिसहरूको कथा हो, जहाँ बागमती नदीको लहरसँगै आशा र अन्योल दुवै बगिरहेका छन् । थापाथली को किनारमा वर्षौँदेखि अडिग उभिएको सुकुम्बासी बस्ती यसको जिउँदो उदाहरण हो । बाढीले नहटाएको, तर नीतिले हटाउन खोजिएको एउटा जीवन ।
वर्षात् आउँछ, नदी बढ्छ, पानी किनार चुम्दै कहिलेकाहीँ झुपडीका भित्तासम्म पुग्छ । त्यो क्षणमा त्रास हुन्छ, असहजता हुन्छ, तर हार हुँदैन । किनकि ती झुपडीहरू केवल अस्थायी आवास होइनन्, ती संघर्षका स्थायी प्रतीक हुन् । त्यहाँ हरेक बिहान हातमुख जोर्न निस्किने मानिसहरू छन्, जसले शहरलाई बनाएका छन्, तर शहरले अझै उनीहरूलाई चिनेको छैन ।
तर आज अवस्था बदलिएको छ । बाढीको सन्त्रासभन्दा ठूलो त्रास अब डोजरको आवाज बनेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनमा बस्ती हटाउने तयारी भइरहेको खबरले त्यो किनारमा बस्नेहरूको निद्रा हराएको छ । प्रहरीको माइकिङले शुक्रबार साँझसम्मको अल्टिमेटम सुनाएको छ,“छोड्नुहोस्, नत्र हटाइनेछ ।”
एकातिर, सुकुम्बासीहरूको संख्या बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाका नदी किनारमा बस्ने परिवार झण्डै ६ हजार पुगेका छन्, जसको जनसंख्या करिब ४० हजार छ। थापाथलीमै १४२ परिवार बसोबास गर्छन् । उनीहरू केवल बागमती किनारमा मात्र होइन, विष्णुमती नदी, धोबीखोला, मनोहरा नदी, बल्खु खोला जस्ता खोलाका किनारमा फैलिएका छन्—जहाँ सहरको विकास र विस्थापन सँगै बढिरहेको छ ।
सरकारले वर्षौँअघि समाधान खोज्ने प्रयास नगरेको होइन। २०७८ फागुन १६ गते बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत कार्यदल गठन गरियो। योजनाहरू बने, रिपोर्टहरू तयार भए, तर कार्यान्वयन भने सधैं अधुरो रह्यो। २०६१ सालमै इचंगुनारायण मा बनाइएका ३ सय फ्ल्याट आज पनि खाली छन्—जसले समाधानको ढिलासुस्तीलाई मौन रूपमा बयान गरिरहेका छन्।
यता, सुकुम्बासी मोर्चा भने स्पष्ट छ, “हामी बस्ती छाड्दैनौँ ।” उनीहरूको माग सरल छ, तर गम्भीर—कानुनबमोजिम लालपुर्जा । उनीहरू भन्छन्, “हामीले शहर बनायौँ, अब शहरले हामीलाई स्वीकार्नुपर्छ ।”
महानगरका प्रवक्ता नवीन मानन्धर ले अस्थायी रूपमा होटलमा राख्ने प्रस्ताव अघि सारेका छन्, तर दीर्घकालीन समाधान अझै अन्योलमै छ । उता सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्बाट कुनै औपचारिक निर्णय नभएको बताउँदैछन् जसले अझै नीति र व्यवहारबीचको दूरी देखाउँछ।
यो कथा केवल थापाथलीको होइन, यो प्रश्न हो, विकास कसका लागि ?
यदि नदी सफा हुन्छ तर मान्छे बेघर हुन्छन् भने त्यो सफाइ कस्तो ?
यदि शहर सुन्दर हुन्छ तर त्यसको मुटु खाली हुन्छ भने त्यो सुन्दरता कस्तो ?
बस्ती हटाउने निर्णय सजिलो हुन सक्छ, तर जीवन हटाउने निर्णय होइन । वास्तविक चुनौती बस्ती व्यवस्थापन हो सम्मानजनक पुनर्वास, दीर्घकालीन योजना, र मानवीय दृष्टिकोण।
बागमती अझै बगिरहेकी छ शान्त रूपमा, साक्षी बनेर । उसले देखेकी छ, कसरी बाढीले नहटाएको बस्तीलाई अहिले नीतिको भेलले बगाउन खोजिँदैछ ।



