काभ्रे – केही दिनअघि आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारी चाप बढेको छ । सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राजमार्गमा आलोपालो प्रणाली लागू गरेको छ ।
जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनलाई रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । बीपी राजमार्गमा १० टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालन गर्न कठिन हुने भएकाले तौल सीमा तोकिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन बाटोमा एकआपसमा क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ । ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको समन्वयमा सवारी व्यवस्थापन मिलाइएको उनले बताए ।
ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई बीपी राजमार्गको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ ।
यसैगरी, डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम भएका साँघुरा घुम्ती तथा सडक अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी तत्काल सुधारका काम अघि बढाउने जनाएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जोखिमयुक्त स्थानमा सवारीसाधन सहज रूपमा पार गराउन डोजर तथा अन्य आवश्यक उपकरण तयारी अवस्थामा राखिएको बताए ।
पृथ्वी राजमार्गको कृष्णभीरमा बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ आउने–जाने सवारीसाधन बीपी राजमार्गतर्फ मोडिँदा पछिल्लो समय उक्त सडकमा सवारी चाप उल्लेख्य बढेको हो ।



