भोटेकोशी बाढीः बाँसका संरचना निर्माण गर्न दिक्तेल रुपाकोट मझुवागढीले सहयोग गर्ने

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अस्थायी बासस्थान निर्माणका लागि रु ६२ लाख नौ हजार आर्थिक सहयोग गर्ने भएको छ ।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार नगरपालिकाका जनप्रतिनिधिबाट रु नौ लाख ८९ हजार तथा कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीबाट रु ५२ लाख २० हजार गरी उक्त रकम उपलब्ध गराइनेछ । जनप्रतिनिधिको एक महिनाको सेवासुविधा तथा कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीको तहअनुसारको पारिश्रमिक कट्टा गरी रकम जुटाइनेछ ।

नगरपालिकाले वडा नं ३, ६, ७ र १२ तथा ज्येष्ठ नागरिक सङ्घबाट एक–एक गाडी बाँस उपलब्ध गराउने तथा अन्य वडाबाट प्रतिवडा रु १५ हजारका दरले बाँस खरिद र ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

खोटाङलाई बाँसको राजधानीका रूपमा विकास गर्न सकिने भएकाले विपद् प्रभावित क्षेत्रमा बाँसको वैज्ञानिक तथा आधुनिक प्रविधिबाट अस्थायी आवास, सेवा केन्द्र, विद्यालय, स्वास्थ्यचौकीलगायत संरचना निर्माणमा सहयोग गर्ने योजना अघि सारिएको नगरप्रमुख भट्टराईले बताए ।

उनका अनुसार उचित प्रशोधन र संरचनात्मक डिजाइन गर्दा बाँसबाट बनेका संरचना करिब १० वर्षसम्म टिक्न सक्ने भएकाले स्थानीय स्रोत र श्रमको उपयोग गर्दै कम लागतमा दिगो पुनर्निर्माण गर्न सकिनेछ । यसका लागि नगरपालिकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वयसमेत अघि बढाएको छ ।

नगरपालिकाले बाँसबाट निर्माण गर्न सकिने सरकारी, सार्वजनिक, सामुदायिक तथा आवासीय संरचनाको आवश्यकता र प्राथमिकताबारे जानकारी उपलब्ध गराउन प्राधिकरणलाई आग्रह गरेको छ । साथै, विपद्मा परेका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गर्न अपिल गरेको छ ।

खोटाङमा १० स्थानीय तह रहे पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाहेक अन्य स्थानीय तहले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सहयोग गर्नेबारे हालसम्म निर्णय गरेका छैनन् ।