रास्वपामाथि लिङ्देनको टिप्पणी : “चमत्कारिक परिणाम धेरै टिक्दैन” दीर्घकालीन टिकाउन चुनौतीपूर्ण

तनहुँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनमा राप्रपाले सिट घटाए पनि राजनीतिक रूपमा हार नस्वीकारेको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले पार्टीले केही सिट गुमाए पनि आफ्नो एजेण्डाको आवश्यकता देशले अझै महसुस गरिरहेको दाबी गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अप्रत्याशित सफलतालाई “चमत्कारिक” परिणामको संज्ञा दिँदै त्यसलाई दीर्घकालीन रूपमा टिकाउन चुनौतीपूर्ण हुने टिप्पणी गरे ।

अध्यक्ष लिङ्देनले राप्रपाले भरपर्दो वैकल्पिक शक्ति बन्नुपर्नेमा जोड दिँदै योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने बताएका छन् । उनले राप्रपा “राजाको पार्टी” नभई राजसंस्था मान्नेहरूको राजनीतिक मञ्च भएको स्पष्ट पार्दै राजसंस्था कुनै दलभन्दा माथि रहने धारणा दोहोर्‍याए ।

निर्वाचनमा सहभागी भएको निर्णयको बचाउ गर्दै उनले राप्रपा चुनावमा नजाँदा संसदमा राजसंस्थाको आवाज कमजोर हुने तर्क गरे। साथै, सरकारमा सहभागी नहुँदैमा पार्टी बलियो नहुने उदाहरण दिँदै राजनीतिक भूमिकाबाट टाढा रहन नहुने बताए।

पार्टीभित्रको आन्तरिक विवादबारे बोल्दै लिङ्देनले अब अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही गरिने चेतावनी दिएका छन्। उनले आगामी केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको मिति तय हुने जानकारी पनि दिएका छन्।

राप्रपाले हाल प्रदेशस्तरमा निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ, जसअन्तर्गत केही प्रदेशमा समीक्षा सम्पन्न भइसकेको र बाँकी प्रदेशमा कार्यक्रम तय गरिएको जनाएको छ।