वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

भोजपुर — शनिबार साँझ परेको वर्षाका कारण भोजपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ । लगातारको वर्षापछि जिल्लाको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दैनिक रूपमा सवारीसाधन आवतजावत हुने यस मार्ग अवरुद्ध हुँदा स्थानीय आवागमनमा ठूलो समस्या देखिएको छ ।

वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार वर्षापछि सडकमा पहिरो तथा क्षति भएपछि यातायात पूर्ण रूपमा रोकिएको हो । सडक खुलाउन आवश्यक पहल भइरहेको भए पनि हालसम्म सहज आवागमनको अवस्था बन्न नसकेको उनले जानकारी दिए । स्थानीयहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ भने सडक मर्मत कार्यका लागि प्राविधिक टोली परिचालनको तयारी भइरहेको जनाइएको छ ।

यसैबीच, वर्षाले जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकहरूमा समेत क्षति पुर्‍याएको छ । केही स्थानमा सडक भत्किनुका साथै यातायात सेवा थप प्रभावित बनेको छ । यता, विद्युत् पूर्वाधारमा पनि असर परेको छ । जिल्लामा सञ्चालनमा रहेका हाइड्रोपावर तथा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ, जसका कारण भोजपुरका अधिकांश क्षेत्रमा अन्धकार छाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार वर्षाबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। क्षतिको पूर्ण मूल्यांकनपछि मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने जनाइएको छ ।

यसरी लगातारको वर्षाले सडक, विद्युत् र दैनिक जनजीवनमा एकैसाथ असर पारेपछि भोजपुरमा सामान्य जनजीवन प्रभावित बनेको छ ।