काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुमबासी बस्ती हटाएर खाली गरिएका सार्वजनिक जग्गाको संरक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
थापाथलीस्थित बागमती नदी किनारको क्षेत्र निरीक्षण गर्दै उनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई खाली गरिएका तथा भविष्यमा खाली गरिने स्थानहरूको सुरक्षा र संरक्षण सुनिश्चित गर्न निर्देशन दिएकी हुन् ।
महानगरका अनुसार ती क्षेत्रमा तारबार लगाउने कार्यका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायत सरोकारवाला निकायसँग समन्वय गरिनेछ । साथै सार्वजनिक निर्माण विभागमार्फत तारबार लगाउने काम पनि सुरु हुने बताइएको छ ।
यसैबीच, कार्यवाहक मेयर डंगोलले आइतबार सुकुमबासी व्यवस्थापनका लागि निर्माण गरिएको नागार्जुन नगरपालिका–इचङ्गुस्थित कोलोनीको समेत निरीक्षण गरेकी थिइन् ।



