काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ । इन्टरपोलले थप कागजात मागेपछि नेपाल प्रहरीको एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) ले आवश्यक विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार केही दिनअघि इन्टरपोलबाट थप विवरण माग गर्दै इमेल प्राप्त भएपछि आवश्यक कागजात पुनः पठाइएको हो। यसअघि एनसीबीले देउवा दम्पतीविरुद्ध रेड नोटिस जारीका लागि औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो। तर, कागजात अपुग भएको भन्दै इन्टरपोलले हालसम्म रेड नोटिस जारी गरेको छैन।
गत चैत २४ गते काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको थियो।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमा रहेका थिए। उनीहरू गत फागुन १४ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए। त्यसपछि चैत ७ गते हङकङ गएको बताइएको छ। स्रोतका अनुसार उनीहरू हाल पनि हङकङमै रहेका छन्।
यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए। त्यतिबेला भने उपचारपछि उनीहरू नेपाल फर्किएका थिए।
रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन्। त्यसपछि कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने व्यवस्था रहेको छ।



