एसईई नतिजा आजै सार्वजनिक गर्ने तयारी, ५ बजेपछि बोर्ड बैठक बस्ने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ भने आवश्यक प्राविधिक काम तीव्र रूपमा अघि बढाइएको छ । बोर्डले आज साँझ ५ बजेपछि बैठक बोलाएको छ । सोही बैठकबाट नतिजा सार्वजनिक गर्ने निर्णय हुने बताइएको छ ।

बोर्ड स्रोतका अनुसार अहिले नतिजा प्रणाली परीक्षण, तथ्यांक प्रमाणीकरण तथा प्राविधिक समायोजनको काम अन्तिम चरणमा पुगेको छ । “सम्भवतः आज साँझ नै नतिजा सार्वजनिक हुन्छ,” स्रोतले जनाएको छ ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो । यही व्यवस्थाका कारण अघिल्ला वर्षको तुलनामा नतिजा छिट्टै प्रकाशन गर्न सम्भव भएको बोर्डको भनाइ छ ।

यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए ।

लैङ्गिक आधारमा हेर्दा परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा अन्य ७ जना रहेका छन् ।

पछिल्ला वर्षहरूमा एसईई नतिजा प्रकाशनपछि वेबसाइटमा अत्यधिक चाप पर्ने समस्या देखिँदै आएको छ । यसपटक भने बोर्डले प्राविधिक तयारीलाई थप व्यवस्थित बनाएको जनाएको छ ।

एसईई नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा विभिन्न डिजिटल माध्यमबाट नतिजा हेर्न सक्नेछन् ।