भोजमा जातीय छुवाछूत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षविरुद्ध उजुरी दर्ता

सिरहा,। चैत १४ गते । भोजमा जातीय छुवाछूत गरेको आरोप लागेका भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवविरुद्ध उजुरी दर्ता भएको छ ।

जातीय छुवाछूतसम्बन्धी कसुर गरेको भन्दै संयुक्त दलित मोर्चा सिरहाको अगुवाइमा गाउँपालिका अध्यक्ष यादवविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता भएको हो । दलित अगुवा शिव कुमार मोचीसहित ११ जनाले संयुक्त रुपमा अध्यक्ष यादवविरुद्ध उजुरी दर्ता गर्नुभएको छ ।

आमाको १३ औं पूण्य तिथिमा फाल्गुन २२ मा गाउँपालिका अध्यक्ष यादवले गरेको भोजमा जातीय आधारमा प्लेकार्ड राखेर अलग अलग ठाउँमा खुवाउनुभएको थियो । उहाँ जातीय अनुसार भोज खाने ठाउँ छुट्याउने प्लेकार्डको फोटोहरु समेत सार्वजनिक भएपछि दलित अगुवाहरु जातीय छुवाछुत गरेको भन्दै आन्दोलन गरेका थिए ।

उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गर्दा अध्यक्ष यादवले जातीय छुवाछुत गरेको निष्कर्ष निकाल्दै कानूनी कारबाही हुनुपर्ने भनेको छ । आयोगले अध्यक्ष यादवलाई कारबाही गर्न निर्देशन समेत दिइसकेको छ ।

तर जिल्ला प्रहरी कार्यालय सिरहाले अध्यक्ष यादवविरुद्ध जातीय छुवाछुत सम्बन्धी कसुरमा उजुरी लिन मानेको थियो । आयोगको दबाब र दलित अगुवाहरुले निरन्तर आन्दोलन गर्दा प्रहरी बाध्य भएर उजुरी दर्ता गरेको छ ।

उजुरीमा अध्यक्ष यादवलाई विपक्षी बनाउँदै हदैसम्मको कारबाही गर्न माग गरिएको छ । साथै दलित समुदायमाथि मानसिक तनाव तथा समाजिक इज्जत प्रतिष्ठामा असर परेकाले क्षतिपूर्ति समेत भराउन माग उजुरीमा गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘जातीय भेदभाव तथा छुवाछुतजन्य कार्यलाई निर्मुल पार्ने जिम्मेवारी तथा दायित्व भएको र स्थानीय सरकारको नेतृत्व गरिरहेका विपक्षीलाई थप कारबाही गरि पाऊँ ।’

भोजमा पूर्व कानून मन्त्री तथा नेकपा एमालेका साँसद लीलानाथ श्रेष्ठ, मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री शत्रुधन सिंह, सिरहाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी भएका थिए । उनीहरुमाथि पनि कारबाही हुनुपर्ने आवाज उठिरहेको छ ।