जादाजादै भट्टले भने, आयल निगम राजनीतिक हस्तक्षेपबाट मुक्त भई व्यावसायिक मोडलमा रूपान्तरण भयो

काठमाडौं  – नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले आफ्नो कार्यकालमा निगमलाई व्यावसायिक, पारदर्शी र प्रविधिमैत्री संस्थाको रूपमा अघि बढाउन महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।

कार्यकारी निर्देशक भट्टले कार्यकाल समाप्तिपछि सार्वजनिक गरेको विवरणअनुसार सरकारले अवलम्बन गरेको नीतिको पूर्ण समर्थन गर्दै निगमलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी व्यावसायिक कारोबारको मोडलमा लैजान प्रयास गरिएको उल्लेख छ ।

उनका अनुसार निगमले विगत वर्षहरूमा कमाएको नाफामध्ये करिब ७३ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोषमा राखिएको छ भने २२ अर्बभन्दा बढी रकम उपभोक्तालाई मूल्य स्थिर राख्न सहुलियतस्वरूप प्रयोग गरिएको छ।

स्वचालित मूल्य निर्धारण प्रणाली लागू

निगमले पहिलोपटक पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणाली लागू गरेको जनाएको छ । यसबाट मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता र व्यावसायिकता बढेको दाबी गरिएको छ ।

पाइपलाइन र भण्डारण पूर्वाधार विस्तार

अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सफलतापूर्वक सम्पन्न गरिएको तथा अमलेखगञ्ज–चितवन र सिलिगुडी–झापा पाइपलाइन तथा भण्डारण टर्मिनल परियोजनामा भारतसँग बिजनेस–टु–बिजनेस सम्झौता सम्पन्न भएको उल्लेख गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एभिएसन इन्धन डिपो सञ्चालनमा ल्याइएको तथा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एभिएसन फ्युल डिपो निर्माण गरिएको जानकारी पनि दिइएको छ।

भण्डारण क्षमता वृद्धि

अमलेखगञ्ज, पोखरा, विराटनगर र नेपालगञ्जमा पेट्रोलियम भण्डारण क्षमता विस्तार गरिएको तथा पोखरामा इन्धन भण्डारण ट्याङ्की निर्माण सम्पन्न गरिएको निगमले जनाएको छ।

इथानोल मिश्रण कार्यविधि जारी

पेट्रोलियम आयात प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले इथानोल मिश्रणसम्बन्धी कार्यविधि जारी गरिएको उल्लेख छ। यसले भविष्यमा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

डिजिटलीकरण र ईआरपी प्रणाली

निगमले संस्थागत सुधारअन्तर्गत ‘इन्टरप्राइज रिसोर्स प्लानिङ (भ्च्ए)’ प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ। यसमार्फत निगमका आन्तरिक प्रशासनिक तथा वित्तीय प्रणालीलाई डिजिटल बनाउने काम अघि बढाइएको छ।

आपूर्ति व्यवस्थापनमा सुधार

रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय संकटका बेला पनि नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन नदिएको दाबी गर्दै निगमले विपद् र जटिल परिस्थितिमा समेत आपूर्ति व्यवस्थापन सफल भएको जनाएको छ।