पनौती — पनौती नगरपालिकामा आगामी पुस ४ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाव्यापी प्रथम तेक्वान्दो प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। पनौती–१, २ र ३ को संयुक्त आयोजनामा कुशादेवीमा तीन दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १७ मध्ये १३ डोजाङ्गका ४०० खेलाडी सहभागी हुने बताइएको छ ।
कुशादेवी तेक्वान्दो डोजाङ्गको सहआयोजनामा हुने प्रतियोगितामा २० वटा इभेन्ट समावेश हुनेछन्। पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार महिलातर्फ २०–५८ केजीका तौल समूह र पुरुषतर्फ २२–६० केजी तौल समूहबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका लागि २० स्वर्ण, २० रजत, ४० कांस्य पदक, साथै प्रथम र द्वितीय ट्रफी तथा नगद पुरस्कारसमेत व्यवस्था गरिने छ ।
विसं २०५२ देखि पनौतीमा तेक्वान्दो प्रशिक्षण सुरु भएसँगै नगरका खेलाडीले अन्तरराष्ट्रिय स्तरमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएका छन् । सञ्जीव प्रधान, रामहरी महत, दिपेन्द्र थापा, विनोद थापा र सुरज घिमिरेलगायत खेलाडीले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितिसकेका छन् ।
तेक्वान्दो सङ्घका अध्यक्ष केशव थापाको नेतृत्वमा पछिल्ला महिनामा श्रीलङ्कामा आयोजित प्रथम दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनौती–२ का कुशल हुमागाईं र विवेक तामाङ, जापानमा विरेन्द्र हुमागाईं, मलेसिया र थाइल्याण्डमा केशव थापा तथा स्वदेशमा प्रकृति थापा र दिपिका सापकोटाले विभिन्न पदक हासिल गरेको जानकारी पनि आयोजकले दिएको छ ।



