काठमाडौं – सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् । प्रतिनिधिसभाको आजको कार्यसूचीमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने उल्लेख गरिएको छ ।
प्रतिनिधिसभाको कार्यसूचीअनुसार राष्ट्रपतिले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन् ।
तर, नीति तथा कार्यक्रममाथिको छलफल र जवाफका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित हुनुपर्ने विपक्षी दलहरूको अडान कायमै छ । प्रधानमन्त्री बुधबारको बैठकमा अनुपस्थित भएपछि विपक्षी दलहरूले नारावाजी गर्दै संसद् अवरुद्ध गरेका थिए ।
विपक्षी दलहरूले नीति तथा कार्यक्रम सदनमा प्रधानमन्त्री स्वयंले प्रस्तुत गर्नुपर्ने र छलफलका क्रममा पनि प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राख्दै आएका छन् । सभामुखसँग पटक–पटक प्रधानमन्त्रीलाई उपस्थित गराउन रुलिङ गर्न आग्रह गरिए पनि सभामुखले प्रधानमन्त्रीको कार्यतालिकाबारे आफूलाई जानकारी नहुने भन्दै रुलिङ गर्न अस्वीकार गरेका थिए । त्यसपछि विपक्षीको अवरोधका कारण हिजोको बैठक प्रभावित बनेको थियो ।
आजको बैठकमा पनि प्रधानमन्त्री उपस्थित नहुने मनस्थितिमा रहेको स्रोतहरूको दाबी छ । यसले पुनः संसद्मा तनाव बढ्न सक्ने देखिएको छ ।
आज अर्थमन्त्रीले जवाफ दिएपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया अघि बढाइनेछ ।
यसैगरी, बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पनि प्रस्तुत हुनेछन् । साथै नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।



