रानीसैन भ्रमणमा गएका मेयर हमालको टोलीमाथि आक्रमण, तीन स्थानीय गम्भीर घाइते

बाजुरा –  बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत पर्ने रानीसैन क्षेत्रमा भ्रमणमा गएको टोलीमाथि आक्रमण भएको छ । घटनामा गुम्बा गाउँका तीन जना स्थानीय गम्भीर घाइते भएका छन् ।

“सुदूरपश्चिम प्रदेश हामी चिनाउँछौँ” भन्ने अभियानअन्तर्गत गोपि हमालको नेतृत्वमा गएको टोली तथा हिमाली गाउँपालिकाको प्रतिनिधिमण्डल अपि सैपाल हिमालको बेस क्याम्प रानीसैन क्षेत्र भ्रमणका लागि गएको थियो ।

भ्रमण टोलीमा गोबिन्दबहादुर मल्ल, राजकला सार्की, जनप्रतिनिधि, कर्मचारी तथा सामाजिक अभियन्ता सहभागी थिए । टोली रानीसैन जाने क्रममा लाम्पाटा क्षेत्रमा पुगेपछि हुम्लाबाट आएको ठूलो समूहले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

वडा अध्यक्ष मंगल बुढाका अनुसार ३ देखि ४ सय जनाको समूह आक्रमण गर्ने उद्देश्यसहित आएको थियो । “हामीहरूको संख्या थोरै थियो । उनीहरूले हातहतियारसहित आक्रमण गर्न थालेपछि सुरक्षाका लागि फर्किनुपर्‍यो,” उहाँले भन्नुभयो ।

स्थानीयका अनुसार आक्रमणकारी समूहले हातहतियार प्रयोग गरेको थियो । आक्रमणपछि भ्रमण टोली गन्तव्यमा पुग्न नसकी गुम्बा गाउँ फर्किएको बताइएको छ ।

स्थानीय पेम्बा गुरुङका अनुसार गुम्बा गाउँबाट करिब तीन घण्टाको पैदल दूरीमा रहेको लाम्पाटा क्षेत्रमा बाजुराका स्थानीयले वर्षौँदेखि बसोबास तथा जग्गा भोगचलन गर्दै आएका छन् । उहाँले रानीसैन, लाम्पाटा र च्याचौर क्षेत्र बाजुराकै भूभाग भएको दाबी गर्नुभयो ।

स्थानीय जनप्रतिनिधि तथा बासिन्दाले हुम्लाबाट भइरहेको दाबी कानुनविपरीत भएको बताएका छन् । उनीहरूका अनुसार बाजुरा र हुम्लाको सिमाना स्पष्ट रूपमा छुट्टिएको अवस्थामा पनि केही समूहले अराजक गतिविधि गर्दै तनाव सिर्जना गरिरहेका छन् ।

स्थानीयले केही महिनाअघि पेमा गारा गुरुङमाथि पनि हातहतियार प्रयोग गरी आक्रमण भएको र गम्भीर घाइते भएपछि हेलिकोप्टरमार्फत काठमाडौँ लगेर उपचार गरिएको स्मरण गराएका छन् ।

लगातार दोहोरिँदै आएका यस्ता घटनाले स्थानीयवासी त्रसित बनेका छन् । स्थानीयले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, दोषीमाथि कारबाही गर्न तथा वास्तविक सिमाना स्पष्ट पार्न नेपाल सरकारको तत्काल ध्यानाकर्षण गराएका छन् ।

स्थानीयवासीले हतियारसहित हुने आक्रमण र अराजक गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य नहुने बताएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।