प्रधानमन्त्रीको प्रष्टीकरण : ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सार्वजनिक विदा दिएको हो

काठमाडौं, फागुन १ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभई नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभएको छ ।

जनयुद्धले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रसम्म ल्याउन निर्णायक भूमिका खेलेको उहाँको भनाई छ । उहाँले त्यही ऐतिहासिक दिनलाई वैधानिक तवरबाट स्थापित गर्न सरकारले फागुन १ गते सार्वजनिक विदा दिएको प्रष्टीकरण दिनुभएको छ ।

जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बिहान आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले यसलाई वैधानिक तवरबाट स्थापित गरिनुपर्थ्यो । ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो र एक दिन सार्वजनिक विदा दिने निर्णय गरियो ।’

‘मैले त्यही ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट हिजो क्याबिनेटबाट यो निर्णय गरेको हो । अब यो माओवादीको मात्रै भएन । यो अब नेपाल राष्ट्रकै सम्पत्ति भयो, आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो ।’

यसलाई ठीक ढंगले स्थापित गर्ने प्रमुख जिम्मेवारी रहेको पनि उहाँले बताउनुभयो । ‘हामीले नै यसलाई आम जनताको बीचमा स्थापित गर्ने र यसै प्रक्रियाबाट सुशासन र विकासको नयाँ अभियानतिर लैजाने आवश्यकता छ,’ उहाँले भन्नुभयो ।

‘असफल हुने छुट छैन’

निकै जटिल परिस्थितिबाट नेपाल सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै उहाँले आफूलाई असफल हुने छुट नभएकोसमेत प्रचण्डले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा छौं । तपाईं हामीलाई थाहा छ अर्थतन्त्रको स्थिति के छ, राजनीतिको अवस्था के छ । सरकारको नेतृत्व गर्ने अवसरलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु ।’

‘हामीलाई असफल हुने बिल्कुल छुट छैन । हामीले सामाजिक न्यायको क्षेत्रमा, सुशासनको क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नैपर्ने छ । त्यसरी मात्रै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठीक ढंगले कार्यान्वयन गर्न सकिन्छ ।’

केही समयदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि कयौं कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्नका निम्ति दृढताको साथ अगाडि बढ्नुको कुनै विकल्प छैन ।’