घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

काठमाडाैं – कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको पाइएको छ । व्यस्त जीवनशैली, छोटो मातृत्व बिदा, फर्मुला दूधको बढ्दो प्रयोग, आक्रामक विज्ञापन, सहरीकरण तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको वृद्धि लगायतका कारणले स्तनपान अभ्यास कमजोर बन्दै गएको देखिएको हो ।

कञ्चनपुर जिल्लामा गरिएको स्वास्थ्य तथ्यांक विश्लेषणअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको सङ्ख्या ८४ दशमलव ९ प्रतिशत रहेको छ भने पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ५५ दशमलव ११ प्रतिशतमा सीमित छ ।

आरती पाण्डेयका अनुसार जिल्लाभित्र स्तनपान अभ्यासमा गिरावट देखिनु गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती हो । उहाँका अनुसार कार्यस्थलको असहजता, कृत्रिम दूधको प्रभाव र जीवनशैली परिवर्तन मुख्य कारण हुन् ।

स्थानीय तहअनुसार फरक अवस्था

जिल्लाका नौ स्थानीय तहमध्ये पूर्ण स्तनपान दरमा ठूलो भिन्नता देखिएको छ । लालझाडी गाउँपालिकामा सबैभन्दा बढी ८१ दशमलव ६६ प्रतिशत रहेको छ भने दोधारा चाँदनीमा ६४ दशमलव ६२ प्रतिशत, शुक्लाफाँटामा ६१ दशमलव २८ प्रतिशत र पुनर्वासमा ६१ दशमलव २९ प्रतिशत रहेको छ ।

त्यसैगरी कृष्णपुर नगरपालिकामा ६० दशमलव ३९ प्रतिशत, बेदकोटमा ५९ दशमलव ७९ प्रतिशत, भीमदत्तमा ४५ प्रतिशत, बेलडाँडीमा ४१ दशमलव २३ प्रतिशत र बेलौरीमा सबैभन्दा कम ३८ दशमलव ११ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउने गरेको तथ्यांकले देखाएको छ ।

प्रदेश र सामाजिक–आर्थिक प्रभाव

सुदूरपश्चिम प्रदेशमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर ६९ प्रतिशत र पूर्ण स्तनपान दर ७४ प्रतिशत रहेको छ ।

शैक्षिक अवस्थाका आधारमा शिक्षा नभएका आमाहरूमा ५९ प्रतिशत, आधारभूत तहसम्म अध्ययन गरेका ६१ प्रतिशत र माध्यमिक तह उत्तीर्ण गरेका ५३ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेका छन् ।

आर्थिक अवस्थाका आधारमा न्यून आय भएका परिवारमा ६४ प्रतिशत, मध्यम वर्गमा ६१ प्रतिशत र उच्च आर्थिक अवस्थाका आमाहरूमा ४४ प्रतिशत मात्र पूर्ण स्तनपान अभ्यास रहेको देखिएको छ ।

फर्मुला दूध प्रयोग बढ्दो

अध्ययनअनुसार दूधदानी प्रयोग गरेर शिशुलाई दूध खुवाउने आमाहरू सुदूरपश्चिममा १५ प्रतिशत रहेका छन् । उच्च शिक्षित आमाहरूमा फर्मुला दूध प्रयोग अझ बढी (४९ प्रतिशत) देखिएको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार फर्मुला दूधको बढ्दो प्रयोगले स्तनपान संस्कृतिमा प्रत्यक्ष असर पारेको छ ।

शिशु मृत्यु रोकथाममा स्तनपानको भूमिका

स्वास्थ्य कार्यालयका अनुसार जन्मेको एक घण्टाभित्र स्तनपान गराउँदा शिशु मृत्युदर १९ दशमलव १ प्रतिशतसम्म घटाउन सकिन्छ । पहिलो दिनमै स्तनपान सुरु गर्दा ७ दशमलव ७ प्रतिशतसम्म मृत्युदर कम हुने अध्ययनले देखाएको छ ।

सरकारले सन् २०३० सम्म छ महिनासम्म पूर्ण स्तनपान दरलाई हालको ५६ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

कानुन कार्यान्वयन कमजोर

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ भए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन नहुँदा समस्या बढेको सरोकारवालाहरूको भनाइ छ ।

स्वास्थ्यकर्मी तथा स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार फर्मुला दूधको अनियन्त्रित प्रचार, कार्यस्थलमैत्री वातावरणको अभाव र जनचेतनाको कमी प्रमुख चुनौती हुन् ।

सचेतना र संरचनागत सुधारको आवश्यकता

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार बाल कुपोषण न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतना विस्तार आवश्यक छ ।

त्यसैगरी स्वास्थ्यकर्मी हरि नाथका अनुसार फर्मुला दूधको अनियन्त्रित प्रचार नियन्त्रण, कानुनको कडाइका साथ कार्यान्वयन र स्तनपानमैत्री कार्यस्थल निर्माण बिना शिशु स्वास्थ्य सुधार कठिन हुने देखिन्छ ।