काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल ले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरण संरक्षण आजको आवश्यकता भएको बताएका छन् ।
विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा आयोजित सगरमाथा समिटर्स समिट–२०२६ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमाली सम्पदाको संरक्षण र सन्तुलित उपयोगमार्फत नेपालको पर्यटन तथा अर्थतन्त्रलाई टेवा पुगेको उल्लेख गरे ।
“सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभई देशको गौरव, प्रतिष्ठा र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो,” उनले भने,“यसको संरक्षण, संवद्र्धन र प्रचारप्रसारले नेपालको पर्यटन क्षेत्रलाई महत्वपूर्ण योगदान दिएको छ ।”
राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा बढ्दो फोहर अहिले गम्भीर चुनौतीका रूपमा देखिएको बताए । उनले सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो तथा प्रविधिमैत्री बनाउन थप सहकार्य आवश्यक रहेको धारणा राखे ।
उनले हिमाल र हिमाली पर्यावरण संरक्षणका लागि अन्तरराष्ट्रिय सहकार्य, संवाद र सचेतना अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले विश्वभरिका सगरमाथा आरोहीहरूको अनुभव र ज्ञानले सगरमाथाको प्राकृतिक स्वरूप जोगाउन सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला ले नेपालको पर्यटन प्रवद्र्धनमा सगरमाथा समिटर्स समिट–२०२६ फलदायी हुने विश्वास व्यक्त गरे ।
उनले जलवायु परिवर्तनको असर सगरमाथासहित नेपालका हिमाली क्षेत्रमा तीव्र रूपमा देखिन थालेको भन्दै त्यसप्रति गम्भीर ध्यान दिन आवश्यक रहेको बताए ।



