बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक स्तरोन्नति गरिएको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाको रु. ७२ लाख लागतमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो।
नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। गण्डकी प्रदेश सरकारको रु. ६० लाख र गाउँपालिकाको रु. १२ लाख लागतमा सडक फराकिलो बनाउने, नाली निर्माण तथा केही स्थानमा ग्राभेलिङको काम गरिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले जानकारी दिए ।
उहाँका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ढोरपाटनदेखि निसेलढोरसम्म सडक पुगेको भए पनि सडक साँघुरो, हिलो र भासिने समस्याका कारण बर्खायाममा यातायात सञ्चालन गर्न कठिन हुने गरेको थियो।
एमएस टीएएस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले गत कात्तिक १२ गते ठेक्का लिएर वैशाख अन्तिम सातामै काम सम्पन्न गरेको जानकारी दिँदै मगरले भने “जेठ अन्तिमसम्म काम सक्नुपर्ने म्याद थियो, तर निर्माण कम्पनीले वैशाखमै काम सक्यो। सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न समस्या थियो, अहिले सहज भएको छ। अब बाह्रै महिना गाडी सञ्चालन हुने अपेक्षा गरेका छौँ।”
यसअघि बर्खाको करिब पाँच महिना सडक अवरुद्ध हुँदा स्थानीयले जेठमै खाद्यान्न ढुवानी गरेर राख्नुपर्ने बाध्यता थियो। सडक स्तरोन्नति भएपछि स्थानीयवासी उत्साहित भएका छन्।
स्थानीय सम्झाना रसाइलीले बर्खामा यातायात बन्द हुँदा दैनिक जीवन प्रभावित हुने गरेको बताउँदै अब समस्या हट्ने आशा व्यक्त गरे । “पहिले सडक निकै अप्ठ्यारो थियो। बर्खामा गाडी नै चल्दैनथ्यो। अहिले बाटो राम्रो बनेकाले यसपालि गाडी चल्ने विश्वास लागेको छ,” उनले भने ।
एक दशकअघि बर्खायाममा मात्रै निसी क्षेत्रमा बसोबास गर्ने स्थानीय अहिले बाह्रै महिना निसेलढोरमै बस्न थालेका छन्। हाल बर्खामा करिब ३०० र हिउँदमा झन्डै १५० घरपरिवार त्यहाँ बसोबास गर्ने गरेका छन्।
स्थानीय कुमबहादुर घर्तीका अनुसार निसेलढोरमा आलु, स्याउ र सिमी उत्पादन राम्रो हुने भए पनि सडकको दुरावस्थाका कारण बजारीकरणमा समस्या थियो। सडक सुधारसँगै अब कृषि उत्पादन बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।



