सङ्खुवासभा — मकालु वरुण राष्ट्रिय निकुञ्ज ले आगामी जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन खुला गर्ने भएको छ।
निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार जेठ २५ गतेदेखि असार २५ गतेसम्म एक महिनाका लागि यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइनेछ। उहाँले निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सागुम्बा पाइने जानकारी दिए ।
यार्सागुम्बा सङ्कलनका लागि निकुञ्ज कार्यालय हेदाङनागढी, हटिया सेक्टर कार्यालय, सेदुवा सेक्टर कार्यालय, गोला पोष्ट, ताम्कू सेक्टर कार्यालय, बुङ सेक्टर कार्यालय तथा छेस्काम रेञ्जपोष्टमार्फत सङ्कलन पुर्जी वितरण गरिने व्यवस्था गरिएको निकुञ्जले जनाएको छ।
अनुमति लिएका व्यक्ति वा समूहले तोकिएको अवधिभित्र यार्सागुम्बा सङ्कलन गर्न पाउनेछन्। सङ्कलनमा जाँदा पुर्जी, प्राथमिक उपचार सामग्री, औषधि, खाना पकाउने ग्यास वा स्टोभ तथा बस्नका लागि त्रिपाललगायत सामग्री लैजान अनुमति दिइएको छ।
तर, विष्फोटक पदार्थ, खुकुरी, चक्कु, डोरी, पासो, भाला, गुलेली, लाउडस्पिकर र ड्रमसेटजस्ता सामग्री लैजान प्रतिबन्ध लगाइएको सूचना अधिकारी सुवेदीले बताए ।
सङ्खुवासभाको मकालु, भोटखोला र सिलिचोङ गाउँपालिका तथा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रभित्र पर्ने उच्च हिमाली भूभागमा यार्सागुम्बा पाइने गर्दछ। स्थानीय बासिन्दाका लागि यार्सागुम्बा मुख्य आम्दानीको स्रोत मानिन्छ। सङ्कलन तथा बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च चलाउने र बालबालिकाको शिक्षामा सहयोग पुग्ने गरेको स्थानीयको भनाइ छ।
निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयका लागि रु. ५००, मध्यवर्ती क्षेत्र बाहिरका सङ्खुवासभा र सोलुखुम्बुवासीका लागि रु. २ हजार तथा अन्य जिल्लाका लागि रु. ३ हजार प्रवेश शुल्क तोकेको छ।
निकुञ्जका अनुसार विगतका वर्षहरूमा यार्सागुम्बाबाट वार्षिक रु. ५० लाखभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको छ। व्यापारीका अनुसार गुणस्तरका आधारमा उत्कृष्ट यार्सागुम्बा प्रतिकेजी रु. ४० लाखसम्म बिक्री हुने भए पनि यहाँ सङ्कलित यार्सागुम्बा सामान्यतया रु. ५ लाख ५० हजारदेखि रु. ७ लाख ५० हजारसम्ममा कारोबार हुने गरेको छ।
यहाँबाट सङ्कलित यार्सागुम्बा मुख्य रूपमा काठमाडौँ र चीनको तिब्बत क्षेत्रमा निर्यात हुने गरेको छ। करिब एक हजार ५०० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज जैविक विविधता र हिमाली जडीबुटीका लागि प्रसिद्ध मानिन्छ।



