नेपाललाई जितका लागि एक सय १७ रनको चुनौती

काठमाडौँ, वैशाख १९ गते । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटियो ।

हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै एक सय छ रन बनाएको थियो । खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको हो ।

युएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ५४ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।