कैलाली — स्थानीय सरकार र प्रदेश सरकारबीचको विवादका बीच लम्कीचुहा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय तहसँगको विवाद कायम रहेकै अवस्थामा अस्पतालको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई लक्षित गर्दै बिहानैदेखि अस्पताल परिसर र आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
१५ शय्याको उक्त अस्पताल सञ्चालनलाई लिएर प्रदेश सरकार र स्थानीय तहबीच लामो समयदेखि सहमति बन्न सकेको छैन । प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले गत वैशाखमा मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवसहित तीन जना कर्मचारी खटाए पनि नगरपालिकाले अस्पताल हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिर नगराउन निर्देशन दिएपछि विवाद चर्किएको थियो ।
त्यसपछि गत वैशाख ३० गते अस्पतालमा तालाबन्दी समेत भएपछि लम्की क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय अभावका कारण अस्पताल सञ्चालन अन्योलमा परेको हो ।
स्थानीय स्रोतका अनुसार उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री शाह र नगर प्रमुख सुशीला शाहीबीचको आन्तरिक राजनीतिक विवादले समस्या थप जटिल बनेको हो । नगर प्रमुख शाहीले अस्पताल हस्तान्तरण प्रक्रिया पूरा नभएको दाबी गर्दै अडान राखेकी थिइन् ।
उद्घाटनका दिन सम्भावित प्रदर्शन र अवरोध हुन सक्ने भन्दै सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको थियो। नगर प्रमुख शाही हाल विदेशमा रहेको जनाइएको छ ।
अस्पताल सञ्चालनसँगै स्थानीयवासीले स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरे पनि प्रशासनिक विवाद टुंगो नलागेसम्म सेवा प्रवाह प्रभावकारी हुने वा नहुने विषय भने अझै अनिश्चित रहेको देखिएको छ ।



