काठमाडौं — विपक्षी दलहरूले लगातार माग गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भई जवाफ दिन तयार भएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले प्रारम्भमै आफू बोल्न चाहेको संकेत गर्दै रोष्ट्रममा उभिएका थिए । सभामुख डोलप्रसाद अर्याल ले बैठक सुरु भएको घोषणा गरेलगत्तै प्रधानमन्त्रीले हात उठाएर बोल्न अनुमति मागेका थिए ।
त्यसपछि सभामुखले संसद् सचिवालयका कर्मचारीसँग परामर्श गरेका थिए । प्रधानमन्त्रीले बोल्न चाहँदा समय दिनुपर्ने सुझाव आएपछि उनलाई रोष्ट्रममा बोलाइएको थियो ।
रोष्ट्रममा पुगेर प्रधानमन्त्री शाहले सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने मागअनुसार आफू उपस्थित भएको बताएका थिए । त्यसपछि सभामुखले प्रत्येक दलबाट एक–एक जना सांसदलाई प्रश्न सोध्न दिने व्यवस्था गर्ने घोषणा गरेका थिए ।
तर सभामुखको उक्त निर्णयप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन् । उनीहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको भन्दै प्रक्रियागत रूपमा नियमित प्रश्नोत्तर हुनुपर्ने माग गरेका छन् ।
नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर सत्र सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै विपक्षी दलहरूले बैठकमै विरोध जनाएका छन्।
यस घटनाले संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति र प्रश्नोत्तर प्रक्रियाबारे राजनीतिक विवाद चर्किएको छ।



