देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ भने हिउँदको मौसमसँगै आगलागीका घटनामा उल्लेख्य वृद्धि देखिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका विपद्का घटनामध्ये आगलागीका घटना सबैभन्दा धेरै छन् । प्राधिकरणले देशभर १६ वटा आगलागीका घटना भएको जनाएको छ ।

असावधानीका कारण परालको कुन्युमा आगो लाग्ने, हावाहुरीले आगो उडेर अन्यत्र फैलिने तथा आगो ताप्ने क्रममा लापरवाही हुँदा आगलागी फैलिएको विवरण प्राप्त भएका छन् । यी घटनाबाट कूल २५ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने सात जना घाइते भएका छन् ।

प्राधिकरणका विवरणअनुसार आगलागीका घटना मोरङमा दुई वटा, सुनसरी, भोजपुर, सप्तरी र सिरहामा एक–एक वटा भएका छन् । यस्तै सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान र कैलालीमा पनि आगलागीका घटना घटेका छन् ।

यसैगरी बागलुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै सप्तरी, कपिलवस्तु र डोटीमा जनावरको आक्रमणसम्बन्धी घटना पनि भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिउँदको समयमा आगलागीको जोखिम उच्च हुने भएकाले आगलागी तथा अन्य विपद्बाट जोगिन विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।