किसानलाई कफीका बिरुवा वितरण

काठमाडौं, असार ८ गते । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानको  आम्दानी वृद्धि गराउन निःशुल्करुपमा कफीको बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनका लागि  कफी वैकल्पिक व्यवसाय  हुुनसक्ने भन्दै आम्दानीको स्रोत बढाउन उक्त बिरुवा वितरण गरेको हो ।
वडा नं १ का अध्यक्ष कान्छामान जिम्बाले भौतिक विकाससँगै आर्थिक विकासका रुपमा कफीलाई अगाडि बढाउने अभियान थालिएको बताउनुभयो । मकै र कोदो खेती गरेको ठाउँमा कफी खेतीको उत्पादनले झन्डै दोब्बर आम्दानी लिन सकिने भएकाले पनि परम्परागत खेतीबाट फरक तरिकाले कफीका साथै फलफूल खेतीतर्फ किसानलाई डो¥याउन वडाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । किसानले पनि आम्दानीका लागि खेतीमा विकल्प सोचिरहेका बेला कफी उत्पादन प्रमुख हुने देखिएको वडाध्यक्ष जिम्बाको भनाइ थियो ।
महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने भएको र अहिलेसम्म परम्परागत रुपमा मकै, कोदोलगायत खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफी नै  देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
उक्त पालिकाका सबै वडामा सहकारी संस्थामार्फत आर्थिक वर्ष ०७९÷८० मा मात्रै एक लाख वटा कफीको बिरुवा वितरण गरिएको उहाँको भनाइ थियो । “महाभारतको आर्थिक समृद्धिको आधार कफीबाट हुने सम्भावना देखिएकाले उत्पादनमा किसानलाई जोड्न यो वर्ष बिरुवा वितरणमा जोड दिएका छौँ”, अध्यक्ष जिम्बाले भन्नुभयो, “यसअघि पालिकाले कफी उत्पादनका विषयमा जानकारी, त्यसको बजारीकरण र गुणस्तरीय उत्पादनका लागि आवश्यक उपकरण वितरणलगायत काम गरिसकेको छ ।”
यहाँका केही किसानले आफ्नै लगानीमा सामान्य किसिमले कफी खेती गर्दै आएका र आम्दानी पनि राम्रो भएको पाइएपछि किसानहरु पनि त्यसतर्फ आकर्षित भएका छन् । आम्दानी पनि राम्रो हुने, पालिकाले पनि निःशुल्क रुपमा बिरुवा वितरण गरेपछि अन्य  किसान पनि खुसी भएका छन् । कफी उत्पादनलाई प्रोत्सान दिन यस वर्षदेखि वडा नं. ३, ५ र ८ वडामा नर्सरीसमेत स्थापना गरिएको पालिकाले जनाएको छ । त्यस्तै पालिकाले कृषि क्षेत्रमा किसानलाई अग्रसर गराउन ट्र्याक्टर, स्प्रे पम्प, प्लास्टिक टनेल र तालिमसमेत दिँदै आएको छ ।
इलाममा चिया हेर्न नेपालीसँगै विदेशी पर्यटक गए जसरी महाभारतमा कफी हेर्ने पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।