सबै आन्दोलनका प्रतिवेदन एकमुष्ट अध्ययन गर्छौ : प्रधानमन्त्री शाह

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न कालखण्डमा भएका आन्दोलन तथा घटनासम्बन्धी सरकारलाई प्राप्त सबै प्रतिवेदनहरू एकमुष्ट रूपमा अध्ययन गरिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो धारणा व्यक्त गरेका हुन्। कांग्रेस सांसद अर्जुन नरसिंह केसी ले जेन–जी आन्दोलनसम्बन्धी प्रतिवेदनबारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले सरकारको नीति स्पष्ट गरेका थिए ।

प्रधानमन्त्री शाहले सरकारलाई हालसम्म प्राप्त सबै प्रतिवेदनहरू, मानव अधिकार आयोगका प्रतिवेदनदेखि विभिन्न आन्दोलन, र्‍याली तथा घटनासम्बन्धी अध्ययन प्रतिवेदनसम्म, एकीकृत रूपमा अध्ययन गर्ने बताएका छन्।

उनका अनुसार सरकारले ती सबै प्रतिवेदनहरूको समग्र विश्लेषण गरी आवश्यक निष्कर्षअनुसार कारबाही र नीतिगत निर्णय अघि बढाउनेछ। प्रधानमन्त्री शाहले विगतका विभिन्न घटनासम्बन्धी प्रतिवेदनहरू अलग–अलग नभई समग्र रूपमा अध्ययन गर्नु आवश्यक रहेको पनि उल्लेख गरे ।

यससँगै सरकार विगतका आन्दोलन तथा घटनासम्बन्धी दस्तावेजहरूलाई एकीकृत रूपमा मूल्याङ्कन गर्ने तयारीमा रहेको संकेत गरिएको छ ।