काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाह ले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीले हालै संसदमा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै घिसिङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् । उनले नेपालले विगतदेखि ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो सीमा सम्बन्धी अडान स्पष्ट रूपमा राख्दै आएको उल्लेख गरेका छन् ।
घिसिङका अनुसार संसदजस्तो सर्वोच्च मञ्चबाट प्रधानमन्त्रीले दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडान कमजोर बनाउने जोखिम रहेको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना गर्नुका साथै नेपालले उठाउँदै आएको वैध दाबीलाई समेत प्रभावित पार्न सक्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमा सार्वजनिक टिप्पणी गर्दै उनले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही दलका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले संशय र प्रश्न उठाएको बताएका छन् ।
घिसिङले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य देश तथा जनतासमक्ष स्पष्ट पार्नुपर्ने माग गरेका छन् । साथै सीमा समस्या भावनात्मक वा अनुमानका आधारमा नभई ऐतिहासिक तथ्य र विज्ञहरूको अध्ययनका आधारमा समाधान हुनुपर्नेमा उनले जोड दिएका छन्।
उनका अनुसार राष्ट्रिय हितका विषयमा अस्पष्टता होइन, दृढता र जिम्मेवारी आवश्यक हुन्छ । सीमा सम्बन्धी विषय कुनै दल वा व्यक्तिको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा चासो र संवेदनशील मुद्दा भएको उनले स्पष्ट पारेका छन्।



