व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिलाहरु

काठमाडौँ – हरितालिका (तीज) पर्वका अवसरमा व्रत बस्ने तयारीमा रहेका नेपाली महिलाले आज दर खाँदैछन् । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका तीजको पहिलो दिन माइतीले चेलीबेटी, दिदीबहिनी तथा छोरीलाई बोलाएर दर खुवाउने परम्परा छ । व्रतका दिन निराहार बस्ने भएकाले त्यसअघि शक्ति प्राप्तिका लागि दूधबाट बनेका शुद्ध तथा आडिला परिकार खाने चलन रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार दरका रूपमा विशेषगरी दूधबाट बनेका परिकार खाने परम्परा छ । गहुँको रोटी र घिउसमेत व्रत बस्नेका लागि आडिलो हुने उनकाे भनाइ छ ।

तीजको व्रत निराहार बस्ने परम्परा रहेकाले त्यसको अघिल्लो दिन बर्तालुले शक्ति सञ्चयका लागि मीठा तथा आडिला परिकार दरका रूपमा खाने गर्छन् । विशेषगरी माइती तथा दाजुभाइले छोरी, चेली र दिदीबहिनीलाई बोलाएर दर खुवाउने प्रचलन छ । शास्त्रीय विधानअनुसार दर दुई प्रहर रात हुँदै खाइसक्नुपर्ने धर्मशास्त्रविद् नेपाल बताउछन् ।

तीज महिलाले वर्षभरि भोगेका दुःख, पीर र मर्का सार्वजनिक रूपमा पोख्ने पर्वका रूपमा समेत स्थापित छ । तीजका गीतमार्फत महिलाले जन्मघर छाडेर कर्मघर पुगेपछि भोगेका सुख–दुःख, पीडा र सामाजिक अवस्थालाई अभिव्यक्त गर्ने गरेका छन् ।

तीजमा बढ्दो तडकभडकप्रति चिन्ता

पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता, तडकभडक र प्रदर्शन बढ्दै गएको भन्दै संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । एक महिनाअघिदेखि नै दर खाने, महँगा गरगहना तथा पोसाक प्रदर्शन गर्ने प्रवृत्तिले तीजको मौलिक संस्कृतिलाई विकृत बनाउँदै लगेको समाजशास्त्री कीर्तिकुमार राई बताउछन् ।

व्रत बस्न शक्ति सञ्चयका लागि भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन बेलुकी खाइने दर महिनौँ अघिदेखि खान थाल्नु तथा व्रतका नाममा तामसी प्रकृतिका खाद्य पदार्थ प्रयोग गर्नेजस्ता प्रवृत्तिले पनि तीज संस्कृतिमा विकृति बढाएको उनकाे भनाइ छ ।

यस्ता गतिविधिले आर्थिक रूपमा कमजोर तथा यस्ता खर्च धान्न नसक्ने परिवारमा निराशा र हीनभावना सिर्जना गर्ने भएकाले तीजलाई देखासिकी र प्रतिस्पर्धाको पर्व बन्नबाट रोक्नुपर्ने संस्कृतिविद्, धर्मशास्त्री तथा समाजशास्त्रीहरूको जोड छ ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय रूपमा भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने दिन तोकिएको हो । तृतीयाका दिन निराहार व्रत बस्नुपर्ने भएकाले त्यसको अघिल्लो दिन दर खाने परम्परा रहेको उनी बताउछन् ।

पछिल्लो समय सरकारी कार्यालयमै समेत एक महिनाअघिदेखि तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको भन्दै भट्टराईले संस्कृतिमा देखिएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सार्वजनिक संस्थाहरू नै त्यसमा सहभागी हुनु उचित नभएको बताएकाछन् ।

दरसँगै सुरु, ऋषि पञ्चमीमा समापन

दर खाएपछि सुरु हुने चारदिने तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा तथा पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि समापन हुन्छ ।

यस वर्ष भदौ ३० गते मङ्गलबार गणेश चौथी र ऋषि पञ्चमी पर्व मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख छ । गणेश चौथी प्रातःकालमा चतुर्थी तिथि परेको दिन मनाइन्छ भने ऋषि पञ्चमी मध्याह्नकालमा पञ्चमी तिथि परेका दिन मनाउने शास्त्रीय विधि रहेको छ ।

यस्तो छ तीजको पौराणिक कथा

हरितालिका तीजको सम्बन्ध सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न गरेको तपस्यासँग जोडिएको छ । पुराणमा उल्लेख भएअनुसार पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाउने वरदान प्राप्त गरेकी थिइन् ।

तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना साथीहरूलाई समस्या सुनाएकी थिइन् । साथीहरूले पार्वतीलाई हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र त्यहीँ पार्वतीले निराहार व्रत गरी महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक मान्यता छ ।

पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने परम्परा सुरु भएको धर्मशास्त्रीय मत छ ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ । यही अवसरमा महिला पुराना साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी वर्षभरिका सुखदुःख साटासाट गर्ने गर्छन् ।

तीज सुरु भएसँगै रेडियो तथा टेलिभिजनमा तीजका गीत गुञ्जिन थालेका छन् । पछिल्लो समय सञ्चारमाध्यमको विस्तारसँगै नेपालमा सीमित रहेको तीज पर्व भारतका केही क्षेत्रमा समेत मनाउन थालिएको छ । भारतीय टेलिभिजन च्यानलमा समेत तीजका गीत तथा कार्यक्रम प्राथमिकताका साथ प्रसारण हुन थालेका छन् ।

तीजसँगै नेपाली समाजमा चाडपर्वको माहोल सुरु हुन्छ । तीजपछि बडादसैँ र तिहारजस्ता ठूला पर्व नेपालीको घरआँगनमा भित्रिने गर्छन् ।